कोरोना महामारीबाट बच्न लकडाउन नै उपयुक्त विधि भएको अध्ययनको निष्कर्ष

कोरोना भाइरस कोभिड-१९ को महामारीमा सतर्कता अपनाउदै यूरोपेली मुलुकहरुले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाख ज्यान जोगिएको अध्ययनहरुले देखाएका छन् ।

बेलायतको इम्पेरियल कलेज लण्डनलेयूरोपका कोरोना प्रभावित ११ वटा मुलुकहरुमा गरेको अध्ययनमा बेलैमा चालिएको होशियारीयुक्त कदमले ती देशमा ३० लाख भन्दा बढी मानिसहरु अकालमा मृत्यु हुनबाट जोगिएको देखिएको छ ।

देशहरुले समयमै लकडाउन नगरेका भए र आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न बाध्य नपारेका भए मानवीय क्षतिको घटना भयावह हुनसक्ने थियो- अध्ययनले भनेको छ । अध्ययनले अझै खतरा टरिनसकेकोले उच्च सतर्कता र सावधानी जरुरी भएको निष्कर्ष पनि निकालेको छ ।

कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला गत मे महिनामा गरिएको अध्ययनमा युरोपका धेरै प्रभावित बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, अष्ट्रिया लगायत ११ देशहरुलाई समेटिएको थियो ।

यस्तै अर्को एउटा अध्ययनले विश्वभरीनै लकडाउन गरिएको भए छोटो समयमै अझै धेरै मानिसहरुको ज्यान जोगाउन सकिने उल्लेख गरेको छ । संक्रमणबाट विश्वभरी ४ लाख ८ हजार बढीको मृत्यु हुँदा यूरोपमा मात्रै १ लाख ७९ हजार बढीको मृत्यु भएको छ ।

लकडाउनमा नगएको अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार बढी मानवीय क्षति भएको छ । विश्वभरी ७१ लाख ८९ हजार बढी संक्रमित भएकोमा ३२ लाख ५० हजार अझै उपचार गराइरहेका छन् । उनीहरुमध्ये ५३ हजार को अवस्था अझै जोखिमयुक्त रहेको तथ्याङ्क छ । बीबीसी


ताजा खबर