दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी बर्षकालागि प्रस्तुत गर्नुभएको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड बजेट विनियोजन गर्नुभएको थियो । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ ।

सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको मन्त्री विश्वकर्माचाले जानकारी दिनुभयो । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित रहेको आरोपको खण्डन गर्दै उहाँले बजेट कुनै क्षेत्र र तहमा केन्द्रित नरहेको स्पष्ट पार्नुभयो । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उहाँको भनाइ थियो ।

आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ । रासस


ताजा खबर