थप २१३ मा कोरोना संक्रमण देखियो, १०२ संक्रमणमुक्त भए : कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

आज थप २ सय १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २ सय ९ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जनकारी दिनुभयो ।

प्रवक्ता डा विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हाल सम्म ७१ जिल्लाका ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप १ सय २ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ४ सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप २ जना महिला र १ सय जना पुरुष कोरोना मुक्त भएका छन् ।

आज विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना, कैलाली अस्पतालबाट बाराका ३४ जना, युनिफाईड कोभिड १९ अस्पताल बलम्बुबाट महोत्तरीका १ जना, कोरोना आईसोलेसन सेन्टर बुटवलबाट रुपन्देही र कपिलबस्तुका २७ जना, कोरोना विशेष अस्पताल दाङबाट बाँके कपिलवस्तु र दाङका १० जना, गौर नर्सिङ अस्पतालबाट रौतहटका १८ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

हाल सम्म जम्मा ३ सय ९९ जना पुरुष र ६८ जना महिला गरी कूल ४ सय ६७ जना कोरोना मुक्त भएका छन् ।


ताजा खबर