चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ ।
जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
“नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो ।
विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ ।
यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ । ग्रहण आज राति ११ः३० बजे शुरु भई १ः०९ बजे मध्य हुनेछ । राति २ः४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ । रासस

ताजा खबर