स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमको निःशुल्क सिमकार्ड

कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न र परिवारसँग सम्पर्क गर्न सजिलो होस् भन्ने उद्श्यले निःशुल्क सीमकार्ड वितरण गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ ।

सिमकार्डमार्फत गरिने निगरानीबाट विदेशबाट आएका कुनै व्यक्तिमा कोरोना भाईरस रहेछ भने पनि त्यसको संक्रमण समुदायमा फैलनबाट जोगाउन सहयोग पुग्ने विश्वास टेलिकमको छ ।

अहिलेलाई १ लाख वटा सिमकार्ड निःशुल्क वितरण गर्ने र आवश्यकताअनुसार थप वितरण गर्दै जाने योजना रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउनुहुन्छ ।

१० रुपैयाँ ब्यालेन्स सहित वितरण गरिने यी सिममा नेपाल टेलिकमको नेटवर्कभित्र ४० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने र ६० एमबी डाटा प्याकेज सुविधा समेत रहने टेलिकमले जनाएको छ ।

नेपालीहरूलाई स्वदेश फर्कनको लागि नेपाल सरकारले तोकेको नेपाल भारत सीमाका २० वटा प्रवेश विन्दु तथा काठमाण्डौं उपत्यकामा निर्माण गरिएका ७ वटा क्वारेनटाईन स्थलमा नै बुथ स्थापना गरी सीमकार्ड वितरण गरिनेछ ।

प्रवेशविन्दुमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय तह लगायतसँगको समन्वयमा उनीहरुलाई सिम वितरण गरिनेछ ।

भारतबाट आउनेहरुलाई नेपाल टेलिकमको क्षेत्रिय कार्यलयहरूबाट सीम वितरणको प्रक्रिया सुरु भईसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले कोरोना महामारीका बेला आफ्ना ग्राहकहरूलाई विभिन्न प्याकेजहरु सहितका अन्य सुवधा पनि उपलब्ध गराएको छ । रासस


ताजा खबर