आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई पुनर्स्थापित गर्न सरकारलाई समितिको निर्देशन

महिला तथा सामाजिक समितिले स्वास्थ्य जोखिममा रहेकाहरूलाई सहज, सर्वसुलभ एवं नियमित रूपमा आवश्यक उपचारको अनिवार्य उपचारको व्यवस्था मिलाउन, महामारीको बिचमा पनि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई पुनर्स्थापित गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले समयमा नै उपचार नपाएका कारण गर्भवती, सुत्केरी तथा बालबालिकाको मृत्युदर बढेको भन्दै उच्च जोखिममा भएका नागरिकहरूको जीवन रक्षाका लागि सबै विकल्पहरू प्रयोग गर्न स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अझै सक्रिय र प्रभावकारी बनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै कोरोना सङ्क्रमित जिल्लाबाट आएका अन्य रोगका बिरामीलाई पनि अस्पतालले उपचार गर्न नचाहनु, अप्रेसन थिएटरमा पुगेपछि अन्तै रिफर गरिनु, कोरोना रोगको उपचारमा सहानुभूतिपूर्ण व्यवहार नदेखाउनु, एम्बुलेन्सले बिरामी बोक्न नचाहनु र सुरक्षाको आवश्यक प्रबन्ध हुँदासमेत जिम्मेवार नहुनु पेसा माथि नै घातक हुने भन्दै महामारीबाट पार पाउन सबैलाई जिम्मेवार भई काम गर्न समेत समितिले अनुरोध गरेको छ ।

समितिको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महामारीकाबीच कसैको पनि ज्यान नजाओस् भनेर मन्त्रालयले संवेदनशील र जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो ।

उहाँले लकडाउनपछि अस्पताल गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा कमी आएको, गर्भवती र सुत्केरी महिलाको मृत्युदर बढेको भन्दै यसको न्यूनीकरणका लागि कार्य योजना बनाएर अन्तर मन्त्रालयगत रूपमा स्थानीय तहलाई समेत परिपत्र गरेर काम अघि बढाएको बताउनुभयो ।

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको महामारीपछि स्वास्थ्य सुधारका लागि अवसर प्राप्त भएको भन्दै कोरोनाको परीक्षणका लागि सरकार सम्पूर्ण रूपमा लागिरहेको बताउनुभयो ।

उहाँले कोरोना बाहेक अन्य आधारभूत स्वास्थ्य सेवाका लागि पनि सरकारले काम गरिरहेको भन्दै गर्भवती महिला र सुत्केरीका लागि राष्ट्रिय कार्य योजना नै बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले कोरोनाको महामारीपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन कठिन भइरहेको, अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको र मातृ मृत्युदर बढेको तथा गर्भवती र सुत्केरी महिला स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको बताउनुभयो ।

कोभिड–१९ को उपचार गर्ने र अन्य बिरामीको उपचार गर्ने अस्पतालको छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने, गर्भवती र सुत्केरीलाई अस्पताल लैजान विशेष व्यवस्था गर्नुपर्ने, समुदायमा कोही बिरामी परे नजिक जानै हुँदैन र सहयोग गर्नु हुँदैन भन्ने मनोविज्ञान र त्रासको अन्त्यका लागि सचेतता कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सांसदहरुले जोड दिनुभयो । रासस


ताजा खबर