अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन

हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरि प्रदर्शन भइरहेको छ ।

एक हप्ताअघि भएको घटनापछि गत हप्ताभरि हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुनथालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरि प्रदर्शन गर्दैआइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुँदैगएपछि सरकारले देशका ४० भन्दा बढी शहरमा समय तोकेर कर्फ्यु आदेश पनि जारी गर्नुपरेको थियो । कतिपय ठाउँमा कर्फ्यु पनि तोडेर प्रदर्शनकारीहरूले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा एक जनाको मृत्यु पनि भएको छ । यस बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।
तर बुधबार बिहान भने देशभरि हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।

मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुँदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण बनेको हो ।


ताजा खबर