दुई हजार सङ्क्रमित नाघेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने

कोभिड १९ भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘कोभिड–१९ महामारी स् स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियाअनुसार सङ्क्रमितको सङ्ख्या र अवस्थाका आधारमा महामारीलाई स्तर निर्धारण गरिएको छ ।

आपत्कालीन योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ । सङ्क्रमितको सङ्ख्या निरन्तर बढेपछि स्वास्थ्य मन्त्रालयले ऐनका व्यवस्था र कोरोना रोकथाम योजनाको अध्ययन थालेको छ ।

तर मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ‘जनस्वास्थ्य विपद् अवस्था’ को घोषणाका लागि सिफारिस नभएको बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले दुई हजार सङ्क्रमित नाघेपछि थप परीक्षणमा जाने बताउँदै अन्य स्थितिबारे मन्त्रालयले निर्णय गर्ने जानकारी दिनुभयो । रासस


ताजा खबर