अश्वेत नागरिकको मृत्युसँगै भड्किएको हिंसा तीब्र बन्दै गएपछि अमेरिकाका ४० शहरमा कर्फ्यू

प्रहरी हिरासतमा रहेकै बेला एक अश्वेत नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा देशव्यापी बनेको छ ।

देशभर प्रदर्शन भएपछि हिंसा थप भड्किन नदिन राजधानी वासिङटन डिसी, न्यूयोर्क लगायत ४० शहरमा रातभरका लागि कर्फ्यूलगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयमता अपनाउन र हिंसा नभड्काउन आग्रह गर्दै विरोध जारी रहे सेना परिचालन गर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसमा सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई कानून एवम् व्यवस्थाको संरक्षक भएको बताउनुभयो । सम्वोधन लगत्तै चर्च पुग्नुभएका राष्ट्रपति ट्रम्पले त्यहाँ बाइबल हातमा लिएर अमेरिका विश्वमै शान्त मुलुक भएको र त्यसलाई कायम राख्न कसैले नियमको उलंघन गरेमा कडा कार्वाही गरिने बताउनुभयो ।

यसअघी उहाँले हिंसा भड्किएका राज्यका राज्यपालहरुलाई विरोध दवाउन आदेश दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए । अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा मृत्यु भएको थियो । उनलाई एक जना प्रहरीले घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस देखि मुख्य शहरहरूमा भएको प्रदर्शनसंगै व्यापक आगजनी र लुटपाट पनि भएको छ । थप हिंसा फैलन नदिन वासिङटन र मिनियापोलिस सहित धेरै राज्यहरुमाराष्ट्रिय सुरक्षा दस्ताका फौजहरु परिचालन गरिएको छ । अमेरिकामा भइरहेको यो प्रदर्शनमा ऐकबद्धता जनाउदै अन्य मुलुकहरमा समेत मानिसहरुले जुलुस निकाल्न शुरु गरेका छन् । बीबीसी


ताजा खबर