भारतमा नयाँ संक्रमित थपिने क्रम बढ्दो : संक्रमितको संख्या ६२ हजार नाघ्यो

भारतमा पछिल्लो चार दिन यता लगातार चौथो पटक तीन हजारभन्दा बढी कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । वैशाख २१ गतेसम्म मात्र ४० हजार संक्रमित रहेको भारतमा एक साताभित्र २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । भारतमा कुल संक्रमितको संख्या ६२ हजार ९१५ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारसम्म भारतमा कोभिड–१९ संक्रमितको संख्या ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १७१ जनामा संक्रमणको पुष्टि भएको छ । महाराष्ट्र र गुजरात राज्यमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार १६५ नयाँ संक्रमितको पुष्टि भएको छ । महाराष्ट्रमा कोभिड–१९ बाट संक्रमित हुने २० हजार २२८ जना छन् ।

2020-05-10-14065

भारतमा कोभिड–१९ को संक्रमणबाट दुई हजार जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा मृतकको संख्या ७८० छ । गुजरातमा सात हजार ७९७ जनामा संक्रमणको पुष्टि भएको छ । ४७२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा संक्रमित हुने ५९५ जना छन् । भारतमा संक्रमण वृद्धि दरमा भने ह्रास आएको छ । बिहिबार ७.१ प्रतिशतको संक्रमण वृद्धि दर रहेकोमा शनिबार उक्त दर ६.८ प्रतिशत मापन गरिएको छ ।

रासस / एएनआई


ताजा खबर