भू-भाग अतिक्रमबारे उच्चस्तरीय पहलकदमी गर्न काँग्रेसको अपील

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी लिएर समस्या समाधान गर्न अपील गरेको छ । उसले नक्सा प्रकरणमा सरकारको भूमिका वक्तव्यमा सीमित हुनु र फेरि त्यही प्रवृत्ति देखिनु दुखद रहेको टिप्पणी गर्दै सरकारलाई यथाशीघ्र पहलकदमी गर्न अपील गरेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी भारत र चीनबीच सडक सञ्जाल निर्माणबारे भएको सहमतिदेखि नै काँग्रेसले विरोध गरेको स्मरण गराउनुभएको छ । उहाँले नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले हुनुपर्ने बताउनुभएको छ । सभापति देउवाले राष्ट्रियताको सवालमा नेपाली काँग्रेस सदैव सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार एक सञ्चार जिज्ञासामा भारतले आफ्नै भूभागमा सडक सञ्जाल विस्तार गरेको दाबी गरेको थियो ।

सन् २०१५ को मे महिनामा भारत र चिनियाँ प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङबारे सहमति गर्नुभएको थियो । उक्त सहमतिलगत्तै काँग्रेसका तात्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर गम्भीर असहमति जनाएको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । वक्तव्य मात्रै जारी गरेर सरकारको उत्तरदायित्व पुरा नहुने उहाँको आशय छ ।

उहाँले सन् २०१९ को नोभेम्बर महिनामा भारतले आफ्नो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको नेपाली भू-भाग समावेश गर्दा भारतीय सेना फित्र्ताको माग गरेको ध्यानाकर्षण गराउनुभएको छ । रासस


ताजा खबर