वीरगन्ज नाकाबाट चार अर्व बढीको खाद्यान्न, फलफूल, ग्यास र औषधी भित्रियो

लकडाउनको समयमा वीरगन्ज भन्सार नाका हुँदै दैनिक आपूर्तिका चार अर्बभन्दा बढीको खाद्यान्न, फलफुल, औषधी, ग्यास तथा इन्धन भित्रिएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहका अनुसार चैत्र ११ गते देखि आजसम्म सबैभन्दा बढी एलपिजी ग्यास, औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु, गोलभेंडा, फलफूललगायतका सामानहरु भित्रिएका छन् ।

वीरगन्ज भन्सार नाकाबाट एक अर्ब ७८ करोड ३२ लाख मूल्य बराबरको २२ हजार छ सय ७७ टन एलपिजी ग्यास आयात भएको छ भने एक अर्ब ४५ करोड ३७ लाख २७ हजार मूल्य बराबरको ६६ टन औषधि आयात भएको छ ।

त्यसैगरी, ४० करोड ११ लाख ६६ हजार मूल्य बराबरको ९६४४ किलोलिटर डिजेल आयात भएको छ । १२ करोड ५४ लाख ६७ हजार मूल्य बराबरको तीन सय केएल पेट्रोल वीरगञ्ज नाकाबाट भित्रिएको वीरगंज भन्सारले जनाएको छ ।

दैनिक उपभोग्य सामग्रीमा भन्सार नाकाबाट चार करोड ३५ लाख मूल्य बराबरको एक लाख ८० हजार सात सय किलो आलु, एक करोड १७ लाख मूल्य बराबरको आठ लाख ६१ हजार किलो गोलभेंडा, तीन करोड ५७ लाख मूल्य बराबरको ५२ हजार किलो प्याज र अन्य तरकारी दुई करोड ६८ लाख बराबरको १० लाख ६७ हजार किलो भित्रिएको छ ।

साथै फलफूलमा केरा, खरबुजा, अङ्गुर, स्याउ, मेवा गरी झण्डै १० करोड आयात भएको भन्सारले जनाएको छ ।

यसैगरी लकडाउनको समयमा समेत वीरगन्ज भन्सार नाकाबाट झण्डै ३५ करोड बराबरको चामल भित्रिएको वीरुगञ्ज भन्सारको तथ्यांकले देखाएको छ । रासस


ताजा खबर