‘के चित्त बुझेन र नेता स्वाट्ट बाहिरिनु भयो’

  • चट्याङ्ग मास्टर

साथीहरुसँग बसेको बेला
घाटीबाट सोमरस पसेको बेला
त्यसै त्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरु, देश गनाउने किन होला ?

 

जति जति सोमरस चढ्न थाल्यो
उति उति नेताका सहस्रनाम पाठ बढ्न थाल्यो
जिब्रो पनि अगाडिको सितन भन्दा
पछाडिको नेताको सरापतिर पो बढ्न थाल्यो ।

 

नेतालाई सराप्न तँछाड मछाड चल्यो
सराप कम्पिटिसनमा नेता सराप्न उसलेउसलाई उछिन्यो
जीब्रो जति लर्बराओस् तर
“त्यो साले गधा कुकुर नेता”–यति पाठ त प्रष्टै गर्यो । 

 

टुप्लुक्क त्यही बेला त्यही सरापिएको नेता आई पुग्नुभयो
सिङ्गै चार बोतलको रक्सीले पनि चट्टक्कै छोडेर गयो
अघिसम्म जसको सत्तो सराप गर्दै थियो
त्यसलाई धनुष्टङ्कार नमस्कार गर्न तँछाड मछाड पो भयो । 

 

सबैको हात त्यसै नेतालाई मालिस गरुँला झैँ गर्न थाले
नेताले त्यहीँ आउँ झारे पहिले मैं चाटुला झैँ गर्न थाले 
सबैका ढाड त्यसै दोब्रिएर नेताको घुँडा ताक्न थाले
जीब्रो भोको कुकुरको जस्तै झुण्डिएर र्‍याल काढ्न थाले । 

 

 के चित्त बुझेन र नेता स्वाट्ट बाहिरिनु भयो
 नेताबाट अस्वीकृत सबै फेरि आफ्नो आसनमा थेचारिनु भयो
“देश लुट्न ज्यानमारा यही त हो नि” ! एउटाले प्याच्च भन्यो र घुट्क्यायो
“देश यसैले खत्तम पार्‍या हो” भन्दै अर्कोले मुठ्ठी उज्यायो र गिलास रित्यायो ।

 

साथीहरुसँग यसरी बसेको बेला
घाँटीबाट सोमरस त्यसरी पसेको बेला
त्यसै त्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरु देश गनाउने किन होला ?

ब्यङ्ग्य विधाका सिद्धहस्त साहित्यकार कृष्णमुरारी ढुङ्गेल ‘चट्याङ मास्टर’ समसामयिक बिषयमा ब्यङ्ग्य सँगै  नेपालको जेष्ठ नागरिकहरुको हक अधिकार अभियन्ता पनि हुनुहुन्छ । 

ताजा खबर