सिरिया सिमानामा टर्कीको सैन्य गतिविधि तेज

टर्कीले लामो समयदेखि उसले योजना बनाउँदै आएको कुर्दिश फौजविरुद्धको हमलाको निम्ति आफू तयार भएको बताए लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारिरहेको छ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिए लगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताए।

उनको विवादास्पद निर्णयको अमेरिकाभित्र र बाहिर निकै आलोचना भएको छ।

टर्कीले कुर्दिश मिलिसियालाई आतंकवादी मान्छ। ती मिलिसिया सिरियामा इस्लामिक स्टेट आइएस समूहविरुद्ध लडेको अमेरिका-समर्थित एसडिएफको मुख्य समूह हो।

अमेरिकाले कुर्दिश समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको कतिपय ठान्छन्।

मङ्गलवार राति बख्तरबन्द गाडी तथा ट्याङ्कहरूको लश्कर टर्कीको सीमा नगर अक्काकेलतर्फ लागेका थिए।

सरकारी सञ्चार संस्था अनाडोलुले तिनको तस्बिर प्रसारण गरेको थियो।

टर्कीREUTERS

कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भनेका छन्।

आइएसलाई पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले ‘पीठमा छुरा’ प्रहार गरिएको प्रतिक्रिया दिएका छन्।

तर राष्ट्रपति ट्रम्पले भने आफ्नो निर्णयका कारण सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरे।

साथै ट्वीट गर्दै उनले कुर्दिश फौजको प्रशंसा गरे।

उक्त निर्णयलगत्तै ट्रम्पले टर्कीलाई त्यसको गलत फाइदा नउठाउन भन्दै नत्र उसको अर्थतन्त्र ध्वस्त पारिदिने चेतावनी दिएका थिए।

तर पछि फेरि ट्वीट गर्दै उनले टर्कीलाई व्यापार साझेदार तथा नेटो सहयोगी भन्दै उसको प्रशंसा गरे।

टर्कीले भनेको छ उसले सिरियासँगको सिमानामा ४८० किलोमिटर लामो तथा ३० किलोमिटर भित्रसम्म फैलिएको ‘सुरक्षित क्षेत्र’ बनाउन चाहेको छ ताकि हाल टर्कीमा रहेका ३७ लाखमध्ये २० लाख सिरियाली शरणार्थीलाई त्यहाँ राख्न सकियोस्।

यसबीच टर्कीका राष्ट्रपति रेजेप ताय्यिप अर्दोआन राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिका भ्रमणमा आउने ह्वाइट हाउसले पुष्टि गरेको छ।


ताजा खबर