लिगलिगे राजाको चुनाव सकियो / अनिश थापा नै चौंथोपटक पनि बने लिगलिगे राजा

पर्वतका अनिश थापा चौथो पटक लिगलिगे राजा चुनिएका छन्। चेपे र मस्र्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५७ दशमलव ५५ मिनेटमा पारगर्दै उनी यस पटकको लिगलिगे राजा बनेका हुन्। भारतीय सेनामा रहेका थापा यस अघि तीन पटकसम्म उपाधि जितेर लिगलिगे राजा बनिसकेका छन्।

यस वर्षदेखि थापा पालुङ्टार नगरपालिकाको सद्भावना दूतसमेत बने। पालुङ्टार नगरपालिकाको कार्यपालिकाको बैठकले लिगलिगे दौड जित्नेलाई यस वर्षदेखि सद्भावना दूतबनाउने निर्णय गरेको थियो। एक वर्षसम्मको लागि उनी पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनेका छन्।
पालुङ्टार पालिकाका मेयर दीपकबाबु कँडेलका अनुसार सद्भावना दूतले लिगलिगकोटसँगै पालुङ्गटार नगरपालिकाको पर्यटन प्रवद्र्धनमा प्रचारप्रसार गरी टेवा पुर्याउनुपर्नेछ।

त्यस्तै १ घण्टा एक मिनेट ८ सेकेण्डमा दौड पूरा गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र १ घण्टा १ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरी लम्जुङका रामजी बस्नेत तेस्रो भए। दोस्रो र तेस्रो हुने भाट र बस्नेत दुवै नेपाली सेनाका धावक हुन।

प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपियाँ नगद पुरस्कार प्रदान गर्दै लिगलिगे राजाको श्रीपेच लगाइदिनुभएको थियो। यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपियाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पुरस्कारस्वरुप प्रदान गरिएको थियो।

यसरी शुरू भयो राजा छान्ने परम्परा
लिगलिग दौडको शुरुआत कसरी भयो भन्नेबारे खोजी गर्दा पाल्पाका राजा मुकुन्द सेनले गोरखा राज्य विजय गरेपछि यो शुरू भएको देखिन्छ। तर उनले विसं १६०३ को अन्त्यतिर राजगद्दी त्याग गरी आफूले आर्जेको विशाल राज्य आफ्ना छोरा, नाति, भतिजालाई विभाजन गरी शासन अधिकार सुम्पिए र आफू धर्मकर्मतिर लागे। छोरा नातिले आफूले पाएको राज्य कुशलतापूर्वक सञ्चालन गर्न नसकेपछि प्रत्येक किल्लाका प्रशासक नै राजा हुन थालेका थिए।
गोरखामा त्यतिबेला ३९ कोटा थिए र तीमध्येको एउटा हो लिगलिगकोट। अन्य कोटमा माझकोट, अजिरकोट, बारपाक, सिरानचोक आदि पनि यस्तै राज्य हुन्। यस लिगलिगकोटमा राजा छान्नका लागि घलेले एउटा नियम बनाए।

त्यस नियममा दौड प्रतियोगिता गराउने र त्यसमा पहिलो हुने व्यक्तिलाई राजा बनाउने नियम नै सबैले स्वीकार गरे। यसमा इच्छुक सबै व्यक्ति दौड प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरे। यसमा जुनसुकै जातजाति, भाषाभाषी, धर्म, वर्ग, लिंग, क्षेत्र भए पनि राज्य सञ्चालन प्रक्रियामा सहभागी हुन पाउने हक उनीले स्थापित गरे।

अनि करिब दुई कोसजतिको उक्त दौडमा ७ सय लिगलिग राज्यअन्तर्गतको पहाडको फेदीदेखि लिगलिगकोटको माथिल्लो दरबारसम्म दौडिने दुरी निर्धारण गरेका थिए। यो प्रतियोगिता प्रत्येक वर्ष विजयादशमीका दिन गर्ने निर्णय पनि सबै घलेहरूले गरे।

यो प्रतियोगिता विसं १६०४ मा प्रथम पटक भएको थियो। त्यस प्रतियोगितामा दलसुर घलेले जितेका थिए। उनले पछिसम्मका लगातार जितेर १६१५ सम्म लिगलिगका राजा भई शासन गरेका थिए भन्ने प्रमाण पाइन्छ।


ताजा खबर