कोरोनाविरुद्ध सचेत हुन गीत मार्फत लोक सर्जकहरुको आग्रह

हे, साबुन पानीले राम्रोसँग हात धुनुस् है
सबै हजुर हात धुनुस् है सबै
कोरोना भाइरस लाग्यो भने छैन भन्छन् दबाब हजुर छैन भन्छन् दबाई
आउन सक्छ कोरोना भाइरस सचेत हौ है मनामा पीरलाई राछ …….
लोकगायक एवं सर्जक पशुपति शर्मा ।

विश्वका २०३ देश यतिखेर महामारीका रुपमा फैलिएको कोरोना अर्थात् कोभिड–१९ को चक्रब्युहमा परेको छ । यो समाचार तयार पार्दासम्म विश्वका सात लाख २३ हजार ७३२ जना कोरोना भाइरसका कारण सङ्क्रमित भएका छन् । मृत्यु हुनेको सङ्ख्या मात्रै ३४ हजार पुगेको छ । उपचारपछि घर फर्कनेको सङ्ख्या एक लाख ५१ हजार ८३३ पुगेको छ ।

नेपाल पनि यसबाट अछुतो छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पाँच जनामा कोरोना भाइरस देखिएको छ । त्यसमध्ये एक जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्केका छन् । अन्य चार जनाको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमणको त्रास बढ्दै गएपछि जनचेता जगाउने कार्यमा सरकार लागिपरेको छ । सरकारले साताव्यापी लकडाउन गरेको छ । यसै सन्दर्भमा कलाकारले पनि कोरोनाविरुद्धको महाअभियान सफल बनाउन आफ्नो कला र गलामार्फत योगदान दिएका छन् । पछिल्लो दिनमा लोकदोहोरीका क्षेत्रमा नाम कमाएका पशुपति शर्माले कोरोनाबाट बच्न र बचाउने सन्दर्भमा गाएको लोकलयको गीत हो यो ।

गायक शर्माले कोरोनाबाट बच्न नियमित साबुन पानीले हात धुन, खानेकुरा धोइपखाली पकाएर खान, सकेसम्म भीडभाड हुने ठाँउमा नजान, सरकारले दिएको निर्देशन पालना गरी घरमै बस्न गीतमार्फत आम नेपालीलाई आग्रह गर्नुभएको छ । कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यका साथ गायक शर्माले उक्त सन्देशमूलक श्रव्य दृश्य सामग्री तयार पारेको उल्लेख गर्नुभएको छ । कूल दुई मिनेट आठ सेकेण्डको श्रव्य दृश्य सामग्रीमार्फत सर्जक शर्माले कोरोनाबाट बच्ने र बचाउने उपाय सिकाउनुभएको छ ।

यस्तै वरिष्ठ लोकगायक एवं सर्जक पुरुषोत्तम न्यौपानेले पनि कोरोनाविरुद्ध लड्न सिकाउने श्रव्य दृश्य सामग्री तयार पार्नुभएको छ । यही चैत ८ गते सार्वजनिक भएको उक्त सामग्री ‘ नचेतनाका लागि सन्देशमूलक लोक दोहोरी गीत कोरोना भाइरस रोकथाम’ नाम दिइएको छ । सो गीतलाई हालसम्म एक लाख पाँच हजारले मन पराइसक्नुभएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उक्त गीत सार्वजनिक गर्नुभएको थियो । कूल १५ मिनेट ५३ सेकेण्ड लामो उक्त श्रव्य दृश्य सामग्री सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र राष्ट्रिय लोक तथा दोहोेरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको संयुक्त प्रस्तुति हो ।

गायक न्यौपानेको सुप्रसिद्ध लोक दोहोरी गीत मिर्मी मुनी काली थुनेको भन्ने गीतमा नै कोरोनाविरुद्ध सन्देश दिँदै बच्ने र बचाउने उपाय सिकाइएको छ । गायक न्यौपानेलाई माया गुरुङ, ज्योति लोहनी र ईश्वर सिंहले गायनमा साथ दिनुभएको छ । आम चासोलाई सम्बोधन गर्दै गायक न्यौपाने गीतमा नै उत्तर दिँदै भन्नुहुन्छ ।

ठूलो सानो गरिब न धनी यही सोचाईमा पर्याछु म पनि
कत्ति चिन्ता नलेउ नानीले ,
भीडमा नजाऊ, मास्क लगाउ मुखमा
हात धोइ राखौँ साबुन पानीले …..

यस्तै लामो समयदेखि नेपाली लोकदोहोरी गीत सङ्गीतका क्षेत्रमा अग्रणी संस्थाका रुपमा रहेको तरेली सङ्गीत कुञ्जले पनि कोरोना भाइरसबाट बच्ने जनचेतना जगाउने लक्ष्यका साथ लोक लगमा नै श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । लोक सर्जक एवं सञ्चारकर्मी रेशम सापकोटाले गत चैत ५ गते सार्वजनिक गर्नुभएको सो गीतलाई आजसम्म एक लाख २० हजारले मनपराइसक्नुभएको छ । सापकोटा र मञ्जु गुरुङको स्वर रहेको सो गीतले भन्छ

विश्वभर आइसक्यो दशा, दशा बनी कोरोना भाइरस,
भनिदेऊ डक्टर साहेब के के होला ए के होला ए,
कोरोना भाइरसबाट बच्ने उपाय
गीतमा नै रुघा खोकी लगातार ज्वरो, गाह्रो हुन्छ श्वास फर्ने अप्ठ्यारो
सबैलाई सुनाए, कोरोना भाइरसबाट बच्ने उपाय

यस्तै एमएमएस इन्टरटेनमेन्टले पनि कोरोना भाइरसविरुद्ध लड्न उपाय सिकाउन सहयोग पु¥याउने लक्ष्य राखेर श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । मेलिना राई र विनायक कार्कीको स्वर रहेको कोरोना भाइरस नेपाली गीतमा सरोज लोकप्रिय नायक सरोज खनालले अभिनय गर्नुभएको छ । सो गीतलाई हालसम्म एक लाख बढीले मन पराउनुभएको छ ।

गीतले समय समाय हात धुन, स्यानिटाइजर लगाउन, भीड भाडमा नजान आग्रह गरेको छ । त्यस्तै सर्जक सरोज ओलीले पनि कोरोना भाइरसविरुद्ध लडन जनचेतना जगाउने लक्ष्यका साथ सन्देशमूलक गीत सार्वजनिक गर्नुभएको छ । दीपक शर्माको संगीत रहेको सो गीतममा डेभिड शङ्कर र बेनिषा पौडेलको स्वर रहेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, सुनिल थापालगायतले कोरोनाविरुद्ध लड्न हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । सो गीतलाई हालसम्म एक लाख ८३ हजारले मन पराइसक्नुभएको छ ।

यस्तै लोकप्रिय लोकदोहोरी गायक राजु परियार र मञ्जु सुनारले पनि कोरोनाविरुद्ध लड्न चेतना जगाउने लक्ष्यका साथ श्रव्य दृश्य सामग्री सार्वजनिक गर्नुभएको छ । गीतलाई हालसम्म एक लाख दुई हजारले मन पराएका छन् । उता लोकप्रिय गायिका बबिता बानियाँ जेरीले पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन हरेक व्यक्ति सचेत हुनुपर्ने लक्ष्सहित लोकदोहोरी गीत सार्वजनिक गर्नुभएको छ । सो गीतलाई हालसम्म दुई लाख ५७ हजारले मन पराउनुभएको छ । सरकारले योजनाअनुसार नै जनचेतना जगाउने र नागरिकलाई सचेत बनाउन गीत सङ्गीतले पनि महत्वपूर्ण योगदान गर्ने भएकाले अन्य कलाकार तथा सर्जकले पनि त्यसमा योगदान गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

रासस


ताजा खबर