आकासीय पिण्डबारे नयाँ तथ्य पत्ता लगाउने वैज्ञानिकहरूलाई भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार

ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ।

ब्रह्माण्डका विषयमा महत्त्वपूर्ण तथ्य पत्ता लगाउने क्यानडाली-अमेरिकी जेम्स् पिबल्ससँगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार विजेता भएको घोषणा स्टकहोममा आयोजित समारोहमा घोषणा गरिएको हो।

उनीहरूलाई ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा त्यो पुरस्कार दिने घोषणा गरिएको हो।

तीन विजेताहरूले ९० लाख स्वीडिश क्रोनर (झन्डै १० करोड नेपाली रुपैयाँ) पाउनेछन्।

घोषणापछि प्रतिक्रिया दिँदै प्रोफेसर क्वेलोले बीबीसी न्यूजसँग भने, “यो अविश्वसनीय हो। २५ वर्षअघि हामीले नयाँ तथ्य पत्ता लगाएपछि नै सबैले भन्ने गर्दथे ‘यो त नोबेल पुरस्कार पाउनयोग्य खोज हो।’ त्यसपछि मैले भन्ने गर्थेँ, ‘ए हो, हो हुनसक्छ शायद।'”

त्यसपछिका वर्षहरूमा उनले आफ्नो खोजको विषय लगभग बिर्सिसकेका थिए।

“अहिले म निकै आश्चर्यचकित भएको छु। म यो पुरस्कारको अर्थ के हो भनेर खुट्ट्याउने प्रयत्न गरिरहेको छु।”

नोबेल

ती तीन वैज्ञानिककको खोजले खगोलविज्ञानमा नयाँ उपकरणको प्रयोग र ग्रहको उत्पत्तिका बारेमा नयाँ क्रान्तिको बीजारोपण गरिदिएको बताइएको छ।

#BBC


ताजा खबर