लिङ्गे पिङ : रोमाञ्चकता र तन्दुरुस्तीका लागि

लुगा लगाउनका लागि अहिले दशैं नै कुर्नैपर्छ भन्ने छैन । तर, दशैंको लुगा विशेष हुन्छ । त्यसैले त यतिबेला लत्ताकपडाको बजार उत्कर्षमा पुग्ने गर्छ ।

मासु खानका लागि अहिले दशैं कुर्नैपर्छ भन्ने छैन । तर, दशैमा पकाइने मासु विशेष हुन्छ । त्यसैले त यतिबेला खसीको स्वादिलो पक्कु खाने गरिन्छ ।

खुला आकाशमा चङ्गा त जहिले पनि उडाउन सकिएला । तर, शरद ऋतुमा बहने हावामा चङ्गा उडाउनुको खास मज्जा छ । चङ्गा उड्न थालेपछि दशैंको रौनक आउँछ ।

दशैंसँग यस्ता केहि विशेषता जोडिएका छन् । जस्तो कि, पिङ खेल्नु ।

हो त, पिङ दशैंको खास खेल हो । हुन त कतिपय दशैंमा तासको खालमा जम्छन् । तास खेल त्यती स्वस्थ्यवद्र्धक चाहि मानिदैन । किनभने एकै ठाउँमा घण्टौ बसेर, मासु–मदिरा खाएर खेलिने तासले स्वास्थ्य मनोरञ्जन दिलाउँदैन ।

अतः दशैंको विशेष खेल पिङ नै हो । खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले नै भनिएको होला, दशैंमा एक पटक भूँई छाड्नुपर्छ ।

जसै दशैं आउँछ, गाउँघरतिर लिङ्गे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दशैंको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।

पिङ एक मनोरञ्जन

दशैं भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दशैंको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर बर्षमा एक दिन न आउने हो ।

दशैंमा मनोरञ्जन गर्ने अनेक विधी छन् । तौर तरिका छन् । त्यसमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । पिङ एक रोमाञ्चक अनुभव पनि हो ।

स्वास्थ्यका लागि

दशैंमा लिङ्गे पिङ किन खेलिन्छ होला ? यसको सोझो जवाफ हो, मनोरञ्जनका लागि । तर, यतिले मात्र जवाफ पुग्दैन । पिङ खेल्नुको सम्बन्ध हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दशैंमा पिङ खेल्दा केही शारीरिक लाभ मिल्छ ।

दशैंलाई हामी मिठो मसिनो खाने चाड भन्छौं । खासगरी मासुजन्य परिकार खाने चाड । यतिबेला घरमा मिठोमसिना खाइन्छ । पाहुना लाग्दा मिठोमसिनो खाइन्छ । अनेकथरी खाइन्छ । आफन्तको मन राख्नका लागि पनि खानैपर्छ । यसरी खानाको मात्रा बढ्दा त्यसले स्वभाविक रुपमा हामो पाचन यन्त्रलाई असर गर्छ । मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ ।

यस्तो अवस्थामा लिङ्गे पिङ खेल्नुको खास फाइदा छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।

यसरी लिङ्गे पिङको सम्बन्ध पेटको स्वास्थ्यसँग पनि जोडिएको छ । त्यसैले दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।


ताजा खबर