चिउरा कुटेपछि बल्ल आउँथ्यो दसैं

दसैं भन्नेबित्तिकै पुराना कुरा सम्झिँदा चिउराको याद आउँछ।

२००७ सालको जेठ ५ गते जन्मेको म। थानकोटदेखि उत्तर दहचोकको डाँडामाथि थियो हाम्रो घर। चार वर्षदेखि अलि कुरा बुझ्ने भएँ हुँला। दसैं आयो चिउरा खान पाइन्छ भन्ने कुरा मेरो स्मृतिमा बसेको छ।

अहिले हामीले यात्रा गर्ने थानकोटको बाटो खुलेको थिएन। थानकोटदेखि राजामहाराजाहरू पालकीमा बोकिएर चन्द्रागिरिबाट भैंसे हुँदै हेटौंडा निस्किने एउटा बाटो थियो। त्यसलाई घोरेटो भन्थे।

त्यो बेलाको परिवेश न बजार, न पसल, न बाटो नै छ। एक प्रकारले उपत्यका मैले जान्दा अन्धकार नै थियो। मैले चिउराको प्रसंग किन उठाएँ भने चिउरा खाने कहाँ गएर, गाउँमा मकै भटमास खान पाइन्थ्यो। खेत थियो रोटो, पीठो, चामल गरी खान पर्थ्यो। चामलले मात्र खान पुग्दैनथ्यो। उब्जनी कम हुन्थ्यो। चिउरा त धानबाटै बनाउनु पर्‍यो।

दसैं आएपछि आमाहरूले अघिल्लो दिन ठूलो खड्कुलोमा धान भिजाउनु हुन्थ्यो। भिजाइसकेपछि अलिकति तातोपानी राखेर बफ्याउनु हुन्थ्यो। भिजेको धान भोलिपल्ट बिहानै माटाको हाँडीमा राखेर अँगेनामा कप्टेराले भुट्ने।

अनि बाहिरचाहिँ चिउरा कुट्ने मान्छे राखिएको हुन्थ्यो। त्यो पनि चिउरा कुट्ने विशेषज्ञ हुन्थे। आजको जस्तो मिल हुन्थेन। काठको उर्गल, ठूलो मुढोमा प्वाल छेडेर बनाइएको हुन्थ्यो। दुईतिर बसेर दुईजनाले लुसी हिर्काउनेले खोपिल्टोमा हालेको धान पिट्थे। र, एउटा चिर्कटो बाँसको लिएर चलाउँथे। यसरी चिउरा तयार हुन्थ्यो।

सातघर परसम्म त्यो चिउराको बासना आउँथ्यो। आजभोलि चिउराको बासना पनि आउँदैन मलाई त। त्यो कुटेको चिउरा तत्कालै खान दिइँदैनथ्यो। देवतालाई पन्साएर, भाग छुट्याएर मात्रै आमाहरूले त्यसको धुलो निफनेर चिउरा दिनुहुन्थ्यो।

चिउरा कुटेको दिनदेखि दसैं आयो भनेर बाल मनको उत्सुक पैदा हुन्थ्यो। छिमेकका दौतरीहरुसँग फलानोको घरमा चिउरा कुटिसके, दसैं आइसक्यो हाम्रोमा आकोछैन भनेर कुरा हुन्थ्यो। सबैभन्दा पहिला चिउरा कुट्ने घरले दसैं आएको संकेत दिन्थ्यो। घटस्थापना गरिसकेपछि चिउरा कुटिन्थ्यो।

अष्टमीको दिन दही चिउरा र आलुको भुटुवा खाँदाको स्वाद फेरि जीवनमा पाइनँ। गाउँ आलु थिएन। असन आएर किनेर लानुपर्थ्यो। आजभोलिजस्तो ताछ्नुसमेत नपर्ने आलु फलामे ताप्केमा पकाइने भएकोले अलि कालोकालो। रासायनिक मल नहालिएको त्यो आलु अति मीठो।

बाबाले टुँडिखेल आएर च्यांग्रो वा खसी लानुहुन्थ्यो। घरमै खसी बाख्रा पाले पनि त्यो आफ्नै बच्चालाई कसरी काट्ने भनेर काटिन्थेन। ठूलो खसी-बोका बेचिन्थ्यो। जब घरमा च्यांग्रो वा खसी आउँथ्यो, म त्यो खसीको घोडा चढ्थेँ। त्यसको कान समातेर चढ्न मजा लाग्थ्यो। च्यांग्रो छ भने भुत्ला तानेर ह्वेह्वा चिथोरेर कराउन मजा लाग्थ्यो। अहिले तिनलाई कति दुख्थ्यो होला भनेर खेद हुन्छ।

चिउरा, खसी वा च्यांग्रो आएपछि दसैं आयो भन्ने लाग्ने नै भयो। तर यति भएपछि पनि एउटा कुरा अपुरै हुन्थ्यो। अरु साथीले नयाँ दौरा लाउँथे। मेरो घरमा ढिलो दौरा आउने भयो भने पिरलो सुरु हुन्थ्यो। दसैं मीठो खानेसँगै नयाँ नाना लाउने चाड पनि त हो।

सोह्र श्राद्धकै बेला असन इन्द्रचोकबाट किनेर लानुहुन्थ्यो कपडा। तर गाउँभरिको कपडा सिउने दमाई एउटै व्यक्ति थिए। हातैले सिउँथे। कपडाको नाप पनि फित्ताले होइन, बित्ताले अड्कल्थे।

दसैं तिहारतिर निकै व्यस्त हुन्थे दमाई दाइ। उनको घरको आँगनमा भोटो, चोला, दौराका कपडाको थाक लागेको हुन्थ्यो। दमाई दाइको व्यस्तताले गर्दा टीकामा समेत कहिलेकाहीँ लुगा आउँथेन। टीकाको दिनसमेत नयाँ लुगा लाउन नपाउँदा रुन मन लाग्थ्यो।

लिंगो गाडेर पिङ हालिन्थे। बिहानदेखि बेलुकासम्म पिङ कहिले खाली होला र आफ्नो खेल्ने पालो आउला भनेर कुरेर बसिन्थ्यो।

अष्टमी वा नवमीका दिन आँगनमा गोबर-माटोले लिपेर मार हानिन्थ्यो। ब्राह्मणले सकभर काट्दैन थिए। गाउँभरिका खसी, बोका र च्याङ्ग्रा काट्ने एउटै मान्छे बुद्धि तामाङ दाइ थिए।

उनको आफ्नै ठाउँमा राँगा काटेर हाम्रो गाउँ झर्थे। खसी, बोका काट्ने दिन भोकले हामी घरका भुराभुरी छटपटाउँथ्यौं।

मलाई चाहिँ मनमा लाग्थ्यो, ‘बुद्धि लामा दाइ सबभन्दा पहिले हाम्रो घरमा आएर खसी काटे हुन्थ्यो।’

बलि दिने बेलामा पोतिएको बेदीमा पीठोको रेखीले वरिपरि घेरिन्थ्यो। घटस्थापनादेखि पूजा गरेको जमरा, कर्म पात्रोमा राखिएको कुशपानी लिएर बाबाले संकल्प पढ्नुहुन्थ्यो। यस्तैयस्तै विधिपूर्वक बलिदिने काम सम्पन्न हुन्थ्यो।

पूजा विधि नौ दिनसम्म संस्कारसहित दसैं मनाइन्थ्यो। घरघरमा डमरु बजाएर पूजा हुन्थ्यो। अचेल लोप भयो। घरघरमा जमरा राख्ने चलन पनि छिमेकीले राखेको छ भने ‘ले..ले’ भनेर चलाएको देख्छु।

मासु खान पाइने भएकोले अष्टमीपछिका दिन खुब मजा आउँथ्यो।

दशमीको दिनदेखि घरमा आफन्तहरु टीका लाउन आउन थाल्थे। मेरा दिदीभिनाजु चापागाउँ ललितपुरबाट हिँडेरै दहचोक आउनुहुन्थ्यो। उहाँहरु घरको पूजा-टीका सकेर दहचोकको डाँडा आइपुग्दा साँझै पर्थ्यो। धेरै आफन्तको अवस्था यस्तै थियो। दसैंको दिन धेरै भीड हुने भएकोले झनै रमाइलो हुन्थ्यो।

मेरो मामाघर दहचोककै अर्को डाँडामा थियो। त्यहाँ पुग्न खासै उत्साह हुन्थेन। तर मामाघरमा मात्रै दक्षिणा धेरै पाइने भएकोले मनचाहिँ लोभिन्थ्यो। अरु घरमा एक पैसा दक्षिणा पैसा पाउँदा मामाघरको हजुरबाले दुई पैसा दिनुहुन्थ्यो। तामाको त्यो पैसालाई पशुपति पैसा भन्थे जुन अचेल पूजा गर्दामात्रै देखिन्छ। त्यो पैसा हराउला भनेर हजुरबाले नै कपडामा पोको पारेर दिनुहुन्थ्यो। निकै माया गर्नुहुन्थ्यो।

घर लगेर तकियामुनि राख्ने त्यो पैसाको उपयोग केही थिएन। किनकी घरनजिकै पसल थिएन। आमाले बाबा सहर जाँदा नानीकट्टा, ऐंठे ल्यादिम्ला भनेर पैसा मागेर फकाउनुहुन्थ्यो।

म भन्थे, ‘अहँ, हुन्न। बम्बैसन नभए आलुकट्टे खाने।’

मेरो ब्रतबन्ध २०१४ सालमा भएको हो। यो १३ सालको कुरा हुनुपर्छ। दसैंमा च्याङ्ग्रा किन्न म पनि बासँगै सहर हेर्न हिँडेँ। उपत्यकाको सहर भनेको इन्द्रचोक, वसन्तपुर, असन क्षेत्रलाई भनिन्थ्यो। डिल्लीबजार वा कालिमाटीजस्ता ठाउँलाई गाम्या र दहचोकलाई काठ क्षेत्र भनिन्थ्यो।

त्यही बेलाको दसैंमा मैले पहिलो पटक मोटर देख्न पाएँ। विष्णुमतीको किनारमा काठको एउटा फल्याक- फड्के थियो। विष्णमतीकै पानीले बुबाले मेरो मुख धोइदिएको अझै सम्झन्छु। त्यहीँ किनारमा हो मैले मोटरगाडी देखेको।

त्यहाँबाट वसन्तपुर निस्केका हामी जब कालभैरव अगाडि पुग्यौं, कालभैरको विचित्रको आकृति देखेर तर्सिएको थिएँ म। त्यही बेला हो मैले पहिलो पटक, धरहरा, घन्टाघर र साइकल देखेको।

तीन रुपैयाँमा इन्द्रचोकमा च्याङ्ग्रा किनेपछि बाबाले मलाई असन लगेर जुत्ता किन्दिनुभयो। कपडाका बरातका खैरा जुत्ता। धागोको तलुवा भएको जुत्ता तीन सुकामा किनेका याद छ अझै।

पसलेले तीन सुका भन्दा बुबाले दाम कस्दै, ‘एक रुपैयाँमा त मेरै खुट्टामा हुने जुत्ता आउँछ’ भन्नुभएको थियो।

सहरबाट दसैंको सिकार बोकेर दहचोक फर्कंदा मेरो ध्यान बाटोमा भेटिने मान्छेले जुत्ता लाएका छन् कि छैनन् भन्नेमा हुन्थ्यो। त्यो बेला अधिकांश मान्छे खालीखुट्टा हिँड्थे। हिँड्न गाह्रो भए पनि नयाँ जुत्ता लाएकोमा म फुच्चे आफूलाई निकै ठूलो महशुस गरिरहेको थिएँ।

च्याङ्ग्रासँगै सहरबाट दसैंका लागि किनमेल किनेर फर्कने मानिसहरुको झुण्ड ठाउँठाउँमा भेटिन्थ्यो। कोहीले पोका बोकेका, कोहीले जुटका झोला बोकेका मानिसहरू कालिमाटी, नैकाप दहचोकसम्मै भेटिन्थे।

बाटोमा भेटिने प्रायः सबै मानिस एक अर्कासँग ‘ए दाजै के छ कसो’ भन्दै बोल्दै हिँड्थे।

उनीहरुको एउटै गफ हुन्थ्यो, ‘दसैं आयो है।’

त्यो जमानाको लवाई, संस्कार-संस्कृति धेरै फेरिइरहेको छ।

नयाँ जुत्ता र लुगा किन्न अब दसैं कुर्नुपर्दैन। भृकुटी मण्डपमा बाह्रै महिना पिङ खेल्न पाइन्छ। वर्षमा एकदुई चोटी खाने मासुको रौनक पनि कम भयो। हाम्रो पालामा दक्षिणाको विशेष महत्व थियो। दसैंको दक्षिणाप्रति आकर्षण केटाकेटीमा अझैं बाँकी होला।

तर अब त न चिउराको त्यो स्वाद छ, न चिउरा खान दसैं नै कुर्नुपर्छ।


ताजा खबर