चिनियाँ अर्बपतिले छोरीलाई स्कुल भर्ना गराउन ७२ करोड घुस दिए

चिनियाँ अर्बपति झाओ ताओले छोरी युसी झाओलाई अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना दिलाउन कन्सल्टेन्टलाई ७२ करोड बुझाएको खुलेको छ । ताओ सेनडोङ बुचंग फर्मास्युटिकल कम्पनीका अध्यक्ष हुन् । युसीकी आमाले अमेरिकी कलेज कन्सल्टेन्ट विलियम रिक सिंगरले झुट बोलेर आफूसँग पैसा लिएको बताएकी छिन् ।

‘कन्सल्टेन्टले हामीलाई बताएका थिए कि हामी विश्वविद्यालयलाई डोनेसन दिँदै छौँ, जुन गरिब छात्रछात्रालाई छात्रवृत्ति दिन प्रयोग हुनेछ,’ आफ्नो वकिलमार्फत उनले भनेकी छिन् । अमेरिकाको भर्नासम्बन्धी सबैभन्दा ठूलो यो घोटालाको गत मार्चमा खुलासा भएको थियो । कन्सल्टेन्ट सिंगर यस घोटलाका मुख्य आरोपी हुन् ।

सिंगर र उनका केही सहयोगी धोकेबाजी र जालसाँजीको मुद्दामा दोषी ठहर भइसकेका छन् । अदालतले यसै महिना उनीहरुमाथि सजाय तोक्नेछ । सिंगरले अभिभावकले चाहेको कलेजमा छोराछोरी भर्ना गर्न उनीहरुसँग ठूलो राशि लिँदै आएका थिए । उनी डोनेसनको रकम कलेज स्टाफका लागि सेवासुविधा,

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, र खेलकुदका कार्यक्रममा खर्च हुने भन्दै अभिभावकलाई विश्वासमा पारेर पैसा असुल्थे । अमेरिकी एजेन्सी एफबिआईले यस मामलामा ५० जनालाई गिरफ्तार गरेको छ, जसमा ३३ जना घुस दिने विद्यार्थीका आफन्त छन् । तर, झाओ परिवारमाथि भने कुनै अभियोग लागेको छैन ।


ताजा खबर