विराटनगर आँखा अस्पतालमा आधुनिक उपचार: दृष्टिदोषमा विना चश्मा देख्न सकिने

विराटनगर आँखा अस्पतालले देख्ने शक्ति कमजोर भएकाका लागि विना चश्माको उपचार पद्धती सुरुवात गरेको छ । ‘रिफ्रयाक्टिभ सर्जरी’ भनिने यो उपचार १५ सेकेण्डमा हुने गरेको जनाइएको छ ।

सेना, प्रहरी, पाइलटको रोजगारीका लागि चश्मा लगाउँदा रोजगारी मात्र होइन काममा पनि अलिक समस्या हुन सक्ने हुन्छ । अझ पावरवाला चश्मा लगाउने अविवाहित युवायुवतीमा हिनताबोध पनि हुने भएकोले उनीहरुको लागि यो उपचार बरदान भएको विराटनगर आँखा अस्पतालका प्रवन्धक कुमार पृथुले जानकारी दिए ।

पृथुका भन्छन्– पहिले आँखाको देख्ने शक्ति कमजोर भएकाकाका लागि कन्ट्याक्ट लेन्स थियो र यो अलिक झन्झटिलो थियो । तर अहिले आएको नयाँ प्रविधिले १२ देखि १५ सेकेण्डमा नै लेजरको प्रयोगद्वारा शल्यक्रिया गरिन्छ ।

लेजरको माध्यमबाट शल्यक्रिया गरिने ‘रिफ्रयाक्टिभ सर्जरी’ विधिमा कुनै लेन्स लगाइँदैन । १–२ मिनेटमा नै यसको परिणाम हेर्न पाइन्छ । मोतियाविन्दु नहुञ्जेलसम्म यसले काम गर्छ । यो उपचार १८ देखि ४० वर्षसम्मका लागि बढी उपयुक्त हुन्छ ।

अहिले डिजिटल सामग्रीको प्रयोग बढेसँगै शहरी क्षेत्रमा दृष्टिदोष बढी देखिएको र यसमा रिफ्रयाक्टिभ शल्यक्रिया उपचार विधि छिटो र विना चश्मा आँखाको उपचार भएको छ ।

अरु उपचार धेरै नै सस्तो र निशुल्क नै भएपनि रिफ्रयाक्टिभ शल्यक्रिया उपचार नयाँ भएकोले प्रतिव्यक्ति (दुई आँखाका लागि) ५१ हजार शुल्क लाग्ने बताइएको छ । यो शल्यक्रियाको सेवा विराटनगर आँखा अस्पतालका निर्देशक प्राडा सञ्जयकुमार सिंहले नै गर्दै आएको बताइएको छ ।

एक लाख ४२ हजारलाई सेवा

विराटनगर आँखा अस्पतालले यस वर्षको बैशाख १ गतेदेखि साढे ५ महिनाको अवधिमा एक लाख ४२ हजार २ सय ४७ जनालाई उपचार सेवा दिएको छ । जसमा २४ हजार ५ सय ७४ लाई शल्यक्रिया सेवा दिइएको प्रवन्धक पृथुले बताए ।

अस्पतालले यस बाहेक पनि ११ स्थानका आँखा तथा कान उपचार केन्द्रमार्फत आँखा तथा कानको उपचार सेवा दिएको छ । रंगेली, इनरुवा, भोजपुर, ताप्लेजुङ, इलाम, तेह्रथुम, फिक्कल, दुहवी, लेटाङ, हरिपुर र अर्जुनधारामा यस्तो सेवा दिइरहेको जनाइएको छ ।

आँखाको सम्पूर्ण उपचार

विराटनगर आँखा अस्पतालले आँखाको उपचार हुन सक्ने मात्र होइन उपचार नै नहुनेको पनि पुनस्र्थापन सेवा दिने गरेको छ, अर्थात आँखाको उपचार हुने र नहुने दुवै किसिमका विरामीका लागि सम्पूर्ण सेवा दिने गरेको छ ।

अस्पतालले आँखाको उपचार हुन नसक्नेलाई सेतो छडी कसरी प्रयोग गर्ने भनेर तालिम दिनको साथै उनीहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम पनि दिने गरेको छ ।

अस्पतालका सामुदायिक सेवा विभागका सुपरीवेक्षक अफाक अनबरका अनुसार अहिले मोरङको रतुवामाई, उर्लाबारी र लेटाङलाई कार्यक्षेत्र बनाई यसको काम भैरहेको छ । जसमा अहिले ७० हजार जनसंख्याको तथ्यांक लिइसकेकोमा १७ जना दृष्टिविहीन र ५८ जना बहिरा तथा सुस्त श्रवण पाइएको छ ।

अस्पतालले घर–घरमा गएर पहिले अपाङ्ता भएकाको तथ्याङ्क लिएपछि आँखा तथा कानको उपचार सेवा आफूले जिम्मा लिने गरेको छ ।

अन्य अपाङ्गता भएकालाई सामुदायिक पुनस्र्थापना केन्द्र (सीबीआर) हाटखोला विराटनगरलाई जानकारी दिने गरेको अनबरले जानकारी दिए ।


ताजा खबर