कोरोनाको प्रतिकार : अफवाह फैलाउने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने तत्वविरूद्ध खबरदारी

विश्वभर महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को त्रास नेपाली समाजमा बढेर गएको छ । यस प्रकोपको प्रभाव सबै क्षेत्रमा परिसकेको छ । सरकारले अत्यावश्यक कामबाहेक अन्य बेला बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीनै तहको सरकारले उच्च सतर्कता अपनाइरहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रका मानिस, अभियन्ता, सुरक्षाकर्मीलगायतले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास थालेका छन् । भाइरसविरूद्ध जोगिन सचेतनामूलक अभियान सञ्चालन भएका छन् । हात धुने, माक्स बाँड्नेदेखि स्वास्थ्य सरोकारका विषयमा सहयोगी मनहरु स्वतःस्फूर्त जुटेका छन् । विश्वलाई नै एकैपटक परेको सङ्कटको समयमा ज्यानमारा भाइरसको संक्रमण हुनबाट आफू जोगिनु र अरुलाई जोगाउनु नै अहिलेको पहिलो प्राथमिकता भएको छ । नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै ‘ग्रीन जोन’ हटेको छ । अब हामी जोखिमको घडीमा रहेका छौँ । यस्तो अवस्थामा होस नगुमाई धैर्यताका साथ सावधानी अपनाउनुपर्ने हुन्छ । सोमबारदेखि अन्तर्राष्ट्रिय सबै उडान बन्द रहेकाले संक्रमित मुलुकबाट नेपाल आउने सम्भावना हटेको छ । यस्तै, मन्त्रिपरिषद्ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारत र चीनसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने निर्णय गरिसकेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, माक्स, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायतका सामग्री खरिद गर्न ५० करोड रूपैयाँको कोषसमेत खडा गरेको छ । पछिल्लो समय कोरोनाको प्रकोप झनै तीव्र गतिमा बढेपछि विशेष सतर्कता अपनाउनुपर्ने भएको हो । चीनको वुहान हुँदै युरोप र अमेरिकामा यसको महामारी अविश्वसनीय ढङ्गले फैलिएको छ । इटालीमा यस भाइरस नियन्त्रणबाहिर पुगिसकेको छ । इटालीमा हालसम्म करिब ६ हजारको मृत्यु भएको छ भने एकैदिन ७९३ व्यक्तिको मृत्यु भएपछि समूह वा एक्लै पनि घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । यस्तो स्थिति आउनुका पछाडि महामारीको पूर्वतयारी नहुनु हो । चीनमा तीव्र गतिमा भाइरस फैलिँदा युरोप र अमेरिकी महादेशले यो ‘चिनियाँ भाइरस’ भनेर सामान्यीकरण गरेकै कारण अहिले पूर्वानुमानभन्दा फरक परिणाम आइरहेको छ । चीनमा अहिले पाँच हजार १२० जनाले उपचार गराइरहेका छन्, जसमा एक हजार ७४९ जनाको स्थिति जटिल छ । चीनमा ८१ हजारमा यो भाइरसको संक्रमण हुँदा ७२ हजार ७०० भन्दा बढी निको भइसकेका छन् । यसबाट चीन कोरोना भाइरस नियन्त्रण उन्मुख रहेको भन्न सकिन्छ । चीनमा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि एक अंकमा झरेको छ ।

सोमबारसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघिसकेको छ । कुल १९२ देशका २ लाख २७ हजारभन्दा बढी मानिसको उपचार जारी छ । ९९ हजारभन्दा बढी निको भई घर फर्किएका छन् । दैनिक १० हजारभन्दा बढी संक्रमित थपिने क्रममा छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको चेतावनी दिएपछि सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । नेपालले कम्तीमा दुई साता रोकथामको नीति लिएको छ, जसअनुसार मुलुकको सबै क्षेत्र ‘लकडाउन’ गरिएको हो । यद्यपि, सरकारको निर्देशनविपरीत भीडभाड हुने, किनमेललगायत बैंकहरुमा घुइँचो लाग्ने प्रवृत्ति भने हटेको छैन । कोरोना भाइरसलाई परास्त गर्न सबैको उत्तिकै योगदान रहेको हुन्छ । सरकारले संक्रमितको उद्धार गरी उपचार गर्ने जनाइसकेको छ । यस्तो अवस्थामा एउटा जिम्मेवार नागरिकले गर्ने भनेको सकारात्मक सन्देश तथा सचेतनामूलक सूचना प्रवाह गर्ने हो । मानिसलाई त्रास उत्पन्न गराउने केही तत्वहरुका कारण कोरोना संक्रमण नफैलिए पनि मानिसहरु मनोवैज्ञानिक त्रासबाट पीडित बनेका छन् । विषम परिस्थितिको नाजायज फाइदा उठाउने कुनै पनि तत्ववविरूद्ध खबरदारी गर्ने बेला पनि यही हो । भ्रामक र अफवाह फैलाउने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता अमानवीय चरित्र भएका व्यक्ति देशकै शत्रु हुन् । कोरोनाको प्रतिकारसँगै यस्ता तत्वविरूद्ध खबरदारी गर्नु आवश्यक देखिएको छ ।


ताजा खबर