चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाको सुरक्षा गस्ती सुरु

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले सुरक्षा गस्ती थालेको हो ।

आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरेर सेनाले हतियारसहित गस्ती बढाएको हो ।

काठमाडौंका मुख्य– मुख्य चोक र सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको जानकारी दिए ।

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ ।

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोट लगायतका क्षेत्रमा गस्ती गरिरहेको छ । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले आवश्यक सुरक्षा प्रवन्ध मिलाउनेछ ।


ताजा खबर