चाडपर्वले खुसी थपोस्, रोग नथपोस : सचेत हुनु जरुरी छ।

वर्षभरि काम गर्ने र चाडपर्वमा सकेको मिठो–मसिनो खाने उक्ति नेपालमा पुरानै हो। खानपिन, पारिवारिक भेटघाट तथा आराम लगायतका विषय दसैं–तिहारजस्ता चाडपर्वका व्यावहारिक विशेषता हुन्। र, खानामा मासु, चिल्लो र गुलियो नै मिठो मानिने हाम्रो अर्को थप विशेषता छ। पछिल्लो समय अनेक बहानामा मदिराको प्रयोग पनि बढिरहेकै छ। जे विषय स्वास्थ्यका दृष्टिले जोखिम मानिन्छन्, त्यही नै हाम्रा चाडपर्वको केन्द्रमा छन्।

लिंगे र रोटेपिङ जस्ता शारीरिक कसरतसमेत पर्ने खेलहरुको परम्परा हराउँदै छ। त्यसको स्थान जुवातासले लिएकै थियो। पछिल्लो समय मोबाइल जस्ता वस्तु पनि थपिएका छन्। जसले मानिसलाई एकै ठाउँमा लामो समयसम्म बस्न बाध्य बनाएका छन्। र, ‘डाक्टरको कामै सुझाव दिने हो’, ‘वर्षभरि काम गरिन्छ, चाडपर्वमा त खाने र रमाइलो गर्ने हो’, ‘चाडपर्वमा त आरामसँग खाने हो’ जस्ता अभिव्यक्ति दसैं–तिहारको अवधिमा बढी नै सुनिन्छ। यसले प्रष्ट पार्छ, हामी स्वास्थ्यप्रति सचेत छैनौं।

चाडपर्वका खानपिन र हाम्रा अन्य आनिबानीबारे खासै बहस भएका छैनन्। तर त्यो आवश्यक छ भन्ने कुरा पछिल्ला अध्ययन प्रतिवेदनका निष्कर्षबाट ठम्याउन सकिन्छ। किनकि, नेपालमा नसर्ने रोगको भार बढ्दै गएका छन्। विश्वव्यापी रुपमा भएको रोगव्याधीको भार (बर्डेन अफ डिजिज)को २०१७ को प्रतिवेदनअनुसार नेपालमा हुने कूल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुनेगरेको देखिएको छ। त्यसमा मुटु, श्वासप्रश्वास, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता रोगहरु पर्छन्। यस्ता रोग हाम्रो खानपिन तथा निष्क्रिय जीवनशैलीका कारण लाग्छन्। दसैं–तिहार जस्ता चाडपर्वका उल्लेखित विशेषता हेर्दा तिनीहरुले नसर्ने रोगका जोखिम बढारहेका छन् भन्नु अनुचित हुँदैन।

यसका साथै हामी नेपालीको खानपानकै शैली पनि मिलेको छैन। डाइटिसियनहरु त सहरीकरणसँगै नेपालीको खानपान शैली अस्वस्थ हुँदै गएको बताउँछन्। उनीहरु मासु खाने समयमा सागसब्जी र फलफूल पनि खानुपर्ने सुझाव दिन्छन्। तर, हामी भने दसैं भनेपछि मासु मात्र खाने गर्छौं। खानपानको यो शैली अन्य समयमा पनि उस्तै असन्तुलित रहेका कारण नसर्ने रोगको भार ह्वात्तै बढेको हो।

चाडपर्वकै कारण रोगीको संख्या कति बढ्छ भन्ने नेपालमा कुनै अध्ययन भएर भरपर्दो तथ्यांक आएको छैन। तर, डाक्टरहरुको अनुभव के छ भने, कतिपय रोगको जोखिममा रहेकाहरुले आफ्नो सल्लाह नमान्दा चाडपर्वकै खानपिनका कारण थप बिरामी हुने गरेका छन्। मुटुको समस्या रहेका लगायतका बिरामीले अन्य बेलामा आफ्नो सल्लाह मान्ने गरेको भए पनि यस्ता चाडपर्वमा बेवास्ता गर्ने गरेको उनीहरुको गुनासो छ। त्यसका अतिरिक्त कब्जियत, झाडापखाला जस्ता रोगको संक्रमण पनि यसैबेला बढी देखिन्छ। अर्थात्, पुराना बिरामी थप बिरामी हुने र नयाँ पनि थपिने हकमा चाडपर्व एउटा ‘बोर्डर लाइन’ जस्ता देखिने गरेको छ।

यसर्थ, कुनै बेला ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भनिन्थ्यो। अहिले ‘आयो दसैं ढोल बजाई, गयो दसैं रोग बोकाई’ भन्ने अवस्था आएको छ। यसमा हाम्रा जीवनशैली र चाडपर्व मनाउने तरिकामा आएको परिवर्तन जिम्मेवार छ। यसलाई परिवर्तन गर्नु आवश्यक छ।

कुनै बेला सर्ने रोगहरुले मृत्युदर बढाउने गरेको नेपालमा अहिले त्यसको हिस्सा २५ प्रतिशत छ। चोटपटकको हिस्सा ९ प्रतिशत मात्रै छ। नसर्ने रोगको जुन ६६ प्रतिशत हिस्सा छ, त्यसलाई हाम्रा केही बानीहरुको परिवर्तनमार्फत कम गर्न सकिन्छ। चाडपर्वका खानपिनमा केही परिवर्तन र सक्रियता अपनाउने हो भने त्यो जोखिम धेरै हदसम्म कम भएर जान्छ।

पहिलो त, खानपिनमा सबै सचेत हुनु जरुरी छ। बिरामीको हकमा डाक्टरले दिएका सल्लाहलाई कुनै बहानाबिना नै पालना गर्नुपर्छ। चाडपर्व सकिएको दिनदेखि अस्पतालको बसाइ गरेर आफन्तलाई समेत तनाव थप्नुभन्दा आत्मअनुशासन कायम राख्नु बढी बुद्धिमत्तापूर्ण हुन्छ। अन्यको हकमा चाडपर्वमा गरिएका हेलचेक्र्याईंले नै रोगको जोखिम बढाउँछन् र त्यसले अनेक कठिनाइ निम्त्याउँछन् भन्ने बुझ्न जरुरी छ। चाडपर्वले खुसी थपोस्, रोग नथपोस् भन्नेमा सचेत हुनु जरुरी छ। मासुजन्य पदार्थ ठिक्क खानु, प्रशस्त पानी पिउनु र आवश्यक व्यायाम गर्नु एउटा विकल्प हुनसक्छ।


ताजा खबर