यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख महरा सरकारी निवासबाटै पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेपछि गत हप्ता सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले आइतवार साँझ बालुवाटारबाट पक्राउ गरेको छ।

यसअघि काठमाण्डू जिल्ला अदालतले उनलाई पक्रेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखको सरकारी निवास पुगेको थियो।

गत आइतवार संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्। तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

बीबीसी संवाददाता निरञ्जन राजवंशीका अनुसार आइतवार साँझ महरालाई रातो प्लेट भएको एउटा गाडीमा राखेर प्रहरीले लगेको छ।

यसअघि उनले प्रहरीको गाडीमा जान अस्वीकार गरेको विवरण विभिन्न टेलिभिजन च्यानलहरूले दिएका थिए।

सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।

त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।

लिखित राजीनामा दिएपछि स्वत: सभामुख पदबाट मुक्त भएका महरा अद्यापि सांसद पदमा कायम छन्।

बहालवाला सांसदलाई पक्राउ गर्न सभामुख वा कार्यवाहक सभामुखको अनुमति लिनुपर्ने प्रावधान छ।


ताजा खबर