बाथले जोर्नीमात्र हैन शरिरका सबै अंगहरुमा असर गर्छ

बाथले जोर्नीमात्रै नभएर शरिरका सबै अंगहरुमा असर गर्न सक्छ । यहाँसम्म की बाथले मुख, आँखा, ढाड जुनसुकै ठाउँमा पनि असर गर्छ। आँखा सुख्खा हुनु, मुख सुख्खा हुनुपनि बाथ रोगका लक्षण हुन । बाथ रोग जोर्नीहरूमा मात्र हुन्छ भन्ने आम नेपालीहरूको धारणा छ तर त्यो गलत हो । बाथ सबैलाई एकै किसिमको नभएर फरक–फरक किसिमको हुन्छ ।

बाथको लक्षण एउटा मात्र नभएर बिभिन्न किसिमका हुन्छन् । जोर्नी दुख्ने, ढाड दुख्ने आदि यसका प्रमुख लक्षणहरु हुन् । राति बढी ढाड दुख्ने, हातगोडाका औंला निलो हुने, रक्तनलीमा रगत जम्ने, हातगोडा झमझम गर्ने,हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने र गर्भ रहेको १२ हप्तापछि गर्भ तुहिने सम्मको लक्षण बाथरोगमा हुन्छ । कतिपय बाथको कारण अझै पनि थाहा हुन नसकेकै अवस्था छ र बिश्वका ठुला मुलुकहरु यसको खोज र अनुसन्धानमा लागिरहेको अवस्था छ ।

बाथरोगको रोकथामकालागि माथि चर्चा गरिएका लक्षणहरु देखिनासाथ बाथरोग बिशेषज्ञलाई भेट्नुपर्छ । बाथका कारण हातगोडा बाङ्गिएपछि सिधा हुँदैन । त्यसैले लक्षण देखिनासाथ सुरुको अवस्थामा नै उपचार गर्नु महत्वपूर्ण हुन्छ ।

बाथ रोगको औषधिले पनि कलेजो, किड्नीमा नकारात्मक असर गर्छ । त्यसैले आफुखुशी फार्मेसीमा गएर औषधि किनेर खानुहुँदैन । त्यसैले चिकित्सकको सल्लाह अनुसारमात्र औषधि सेवन र प्रयोग गर्नुपर्छ ।  बाथको औषधिले अन्य अंगहरुमा असर गर्ने हुनाले समय समयमा चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा (डोज) समयान्तर गरी औषधि खाने नखाने गर्नुपर्छ तर यो चिकित्सकको सल्लाहबमोजिम मात्रै गर्नुपर्छ ।

बाथरोगका बिरामीहरूले खानपानका बारेमा धेरै प्रश्न सोध्छन् । बाथरोगमा कुनै पनि खानेकुरा बार्नुपर्ने भन्ने नै हुँदैन । कसैलाई के खाँदा हुन्छ त, कसैलाई के खाँदा, त्यो डाक्टरलाई समेत थाहा हुँदैन । त्यसैले जे खाँदा बढी हुन्छ, त्यो नखाने गर्नुपर्छ, तर अत्यधिक रूपमा केही खानु हुँदैन । रातो मासु र गेडागुडी कम खानुपर्छ । कुनै–कुनै बाथ रोग उपचार गरेर निको नहुने हुन्छन् । कतिपयले युरिक एसिडमात्रै बाथरोग हो भनेर पनि बुझेका छन् तर युरिक एसिडमात्रै बाथरोग होइन । र पक्का कुरा के भने खानपान बारेर बाथरोग निको हुँदैन उपचार गर्नैपर्छ ।

बाथरोग समयमा नै निरुपण गरी उपचार गर्न सकिन्छ तर बाथरोग पहिल्यै नहुनका लागि के गर्ने भन्ने चाँहि हुँदैन । बाथ हुँदै नहुने नियम र उपाय केही छैन । कसलाई हुन्छ भन्ने कसैलाई थाहा हुँदैन ।

अहिले बजारमा पाइने विभिन्न पाउडर – धुलो औषधिका पुडियाहरु पान पसलेहरुले समेत बेच्ने गरेको पाइन्छ, त्यस्ता पुडियाका औषधि किनेर खाने गरेको पाइएको छ तर त्यसो गर्नु हुँदैन । त्यसले भित्रभित्रै असर गर्छ । हड्डी मक्काउनेदेखि विभिन्न असर गर्छ । नाम नखुलेका औषधि सेवन गर्नुहुँदैन । बूढाबूढी भएका वा महिनावारी रोकिएका महिलाहरूले क्याल्सियम र भिटामिन डी समय समयमा खानुपर्छ । महिनावारी रोकिएपछि हड्डी खिइने रोग लाग्छ । त्यसैले भिटामिन डी र क्याल्सियम खानु जरुरी छ ।

बाथरोग लागेको थाहा पाएरपनि समयमा उपचार नगराउँदा बिभिन्न किसिमका जटिल अवस्था आउन सक्छ । जस्तोः फोक्सोमा असर गरी दम फुल्ने र स्याँ–स्याँ हुने, मृगौला फेल हुने, दिमागमा असर गरेर छारेरोग हुने, गोडा बाङ्गिएर अपाङ्ग हुने, हातगोडाका रक्त नलीमा रगत जमेर औला झर्ने,कपाल झर्ने,गर्भ नरहने, मुख सुख्खा हुने,
घाउ आउने,आँखा रातो हुने, दुख्ने समेत हुन सक्छ ।

समयमै रोगको पहिचान, निदान र उपचार गर्ने हो भने बाथरोगले धेरै नकारात्मक असर गर्न पाउँदैन र सामान्य ब्यक्ति सरह श्रृजनशिल र उत्पदनशिल जिवन सकिन्छ ।

 


ताजा खबर