दसैंमा कसरी खाने ?

दसैं यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ। दसैं खानासँग पनि जोडिन्छ। पाहुना आएपछि त खाना दिनैपर्‍यो। दसैंमा मिठो मसिनो खाने चलन नै छ। दसैं मासुसँग धेरै गाँसिएको छ। पहिला पहिला मानिससँग धेरै पैसा थिएन, त्यसैले दसैंको बेलामा मासु खानुपर्छ भन्ने चलन थियो। तर हाल मानिस अरु बेलामा पनि खाइरहन्छन्।

दसैंको बेलामा मासुको धेरै कुरा आउँछ। मानिसको आयु पहिलाभन्दा बढेको छ भने स्वास्थ्य समस्या पनि छ। यसको मुख्य कारण जीवनशैली र खानपान हो।

पहिला–पहिला मानिस साइकल चढ्थे, आधा-एक घण्टा हिँडेरै जान्थे। तर अहिले मानिसको हिँडाइमा कमी आएको छ। आर्थिक प्रगति भएको छ, जुन राम्रो हो तर यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।

दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन।

हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ।

दसैंमा आफन्तहरुसँग भेटघाट हुन्छ, त्यसैले यो रमाइलो चाडमा सबै मिलेर बस्ने-खाने हो। तर खानपिनमा व्यालेन्स हुनु जरुरी छ। मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।

त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।

धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।

दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्।  शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। ।

तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।

पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ। पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।

दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।

रातो मासु कसैले पनि खानु हुँदैन। सेतो मासु र माछा खान सकिन्छ। स्वस्थ व्यक्तिले पनि माछा मासु धेरै खानु हुँदैन।

दसैंको बेलामा व्यायाम गर्न छोड्नु हुँदैन। मानिसहरु दसैंको बेलामा धेरै रमाइलो गर्ने अनि सुत्ने गर्छन्। दशैं भएपनि कमसेकम आधा घण्टादेखि एक घण्टा व्यायम गर्नुपर्छ। राति अवेरसम्म खानु हुँदैन तर खानेले अझै बढी व्यायाम गर्नुपर्छ। दसैं सकिएपछिको कामलाई ध्यान दिएर दसैं मनाउनुपर्छ।


ताजा खबर