दशैंतिहारः हिन्दू धर्म र सस्कृतिको चिरफार

भिम प्रसाद अधिकारी

दशैं सधैं आउँछ, तिहार सधैं आउँछ तर फरक कुरा केही लिएर आउँदैन । उही रुपमा । उही स्वरुपमा । यो दशैं पनि त्यही दशैं हो जुन गत वर्ष पनि यसरी नै आएको थियो । यसपालि पनि आउँदै छ दशैं गत वर्षझैं । दशैं सबैलाई आउँछ तर सबैका लागि दशैंको समान अनुभूति हुन सक्दैन । कमाउनलाई दशैं । रमाउनलाई दशैं । गुमाउनलाई दशैं । खर्चको मेलोमेसो मिलाउनलाई दशैं । जोहोमोहो गरेर सञ्चित गर्नका लागि दशैं । दशैंको नाममा बजारको चहलपहल हजार गुणा बढेको छ । सामान किन्नेहरु बजारभरि जम्मा भएका छन् । मानिसहरुको मालसामान किनमेल र खर्चको स्तर हेर्दा यस्तो लाग्छ कि अब गरिवी बाँकी छैन । मानिसहरु यसरी मालसामान किनिरहेका छन् कि मानौं दशैंले उनीहरुमा सम्पन्नता ल्याइदिएको छ । सम्पन्नताको अनुुभूूति गराउँदै दशैं बजार–बजारमा आएको छ, दशैं घर घरमा आएको छ । बजारियाहरुले दशैंका लागि भनेर मालहरु जम्मा गर्ने र मानिसहरुले दशैं भन्दै धमाधम आँखा चिम्लेर मालसामान किनमेल गरेर दशैं बोलाइरहेका छन् । बजारले सब कुरा ल्याइदिन्छ । ल्याइरहेको छ । हिजो चरम गरिवीको अवस्था थियो । दशैं आयो खाउँलापिउँला, कहाँ पाउँला, चोरी ल्याउँला भन्ने गरिन्थ्यो । मीठोमसिनो खान दशैं आउनुुपथ्र्यो । आज नेपालीका भान्सामा दिनदिनै मीठोमसिनो जुटेको छ । गाउँमा पनि छ । ठाउँमा पनि छ । नमीठो खाने कोही पनि छैन । नराम्रो लाउने कोही पनि छैन । आज दशैंका नाममा बजारले हजार–हजार मालतालहरु फिँजाइदिएको छ । टीका लगाउने सिलबरको काम नलाग्ने बुट्टे थाली दशैं बजारमा आएको छ । टीकाको टपरी लोप हुने भयो अब । ग्रामीण महिलाले दुना टपरी खिल्न बिर्सने भए अब । आधुनिकतासँगै हाम्रा मौलिकताहरु गुमिसकेका छन् । आधुनिकताको नाममा समाजले आफ्नो मौलिक पहिचान गुमाइसकेको छ । दशैं हाम्रो धर्म र संस्कृतिसँग जोडिएको चाड हो । दशैंको सामाजिक तथा सांस्कृतिक महत्व रहेको छ ।

विषय प्रवेशः

हरेक चाडपर्वको आगमनसँगै मानव मनमा विशेष प्रकारको अनुभूति हुन्छ । मनमा हर्ष, उल्लास, उत्साह र उमङ्गको तरङ्ग आउनेगर्छ । ती चाडपर्वहरु जुन हाम्रो मनमा गडेका छन् जसलाई हामी अफ्नो जीवनको अभिन्न अङ्ग मान्दछौं तिनीहरुको स्मरण मात्रले पनि मनमा अपार हर्ष र खुसीको अनुभुति हनेगर्छ । निश्चय नै दशैंतिहार हाम्रा महान् सांस्कृतिक पर्व हुन् । दशैंतिहारको नाम मात्र लिँदा पनि प्रत्येक हिन्दूको मन हलुङ्गो हुन्छ । हामी नेपालीका लागि दशैंतिहार हाम्रो पहिचानका विषय भएका छन् । नेपालबाहेक भारतमा पनि दशैंतिहार मनाइन्छ तर नेपाली दशैं र भारतीय दशैं तुलनात्मक रुपमा भिन्न हुन्छ । नेपालमा हामी तिहार भन्छौं भारतमा दिपावली भनिन्छ । हामीले मान्ने गरेको दशैं निधारमा रातो टीका र पहेँलो जमारा लगाएर आफन्तलाई मानेर आपसमा खुसी बाँडेर स्नेह र सद्भाव आदानप्रदान गरेर विशेष रुपमा मानाइने गरिन्छ । तिहारमा हामी पिङ खेलेर फुलमाला लगाएर रमाइलो गर्छौं । देउसीभैलो खेल्छौं ,नाच्छौं, गाउँछौं र रमाइलो गर्छौ । जीवन भनेको सधैंभरि काममा लादिनु मात्र होइन आफन्तसँग भेटघाट, भलाकुसारी, प्रेम, स्नेह, सद्भाव साटासाट गरेर रमाउनु पनि हो भन्ने सन्देश दशैंतिहारले दिन्छन् । दशैंतिहार हाम्रा जातीय पहिचानसँग जोडिएका विषय हुन् । तसर्थ दशैंतिहारलाई नेपाली समाजमा निकै महत्व दिने गरिन्छ । टाढा रहेको आफन्त दशैंतिहारमा पनि घर फर्किएन भने माया मारेको अर्थमा लिने गरिन्छ । दशैंतिहार नेपाली समाजका लागि पारिवारिक मिलन र सद्भावका प्रतीक हुन् ।

नेपाली हिन्दूहरुको महान् चाडको रुपमा दशैः

हिन्दू धर्मको उद्गम स्थल भारत हो नेपाल होइन । यसै भन्छन् इतिहासकार र संसकृतिविदहरु । तर पनि नेपाललाई हिन्दू राष्ट्र बनाइयो । इतिहासमा भारत कहिल्यै हिन्दू राष्ट्र हुन सकेन । भारतीयहरु विस्वमा एउटा हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्दा रहेछन् । आफ्नो अति निकट छिमेकी राष्ट्र नेपाल हिन्दू राष्ट्र रहिरहोस् भन्ने भारतीयहरुको चाहना रहेछ । आज राजतन्त्रको पतनसँगै हिन्दू राष्ट्रको राष्ट्रिय पहिचान पनि समाप्त भइसकेको छ । कोही कोही नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर रोइकराई गरिरहेका छन् । कोही रोएर यो देश पुन हिन्दू राष्ट्र हुने होइन । नत विगतमा जनताको आँशुले बगाएर हिन्दू राष्ट्र पखालिएर बिलाएर गएको हो । नत जनताका आँशुले धोएर राजतन्त्र पखालिएको हो । समय र परिस्थितिले हिन्दू राष्ट्र र राजतन्त्रलाई एकै पटक विदाइ गरिदियो र यो राजनीतिक चालबाजी थियो । भारतमा मुगल आक्रणको समयमा भारीय हिन्दुहरु नेपाल पसे र तिनीहरुले नेपालमा हिन्दू धर्म र संस्कृतिको प्रचार प्रसार गरे । शासकहरुले हिन्दू धर्म ग्रहण गरे र चाडपर्व आदि अनेक बाहना बनाएर जनतालाई भुल्याएर राखे । प्राय नेपाली चाडपर्वहरुको विशेषता के रहेको छ भने कुनै न कुनै रुपमा जनतालाई मूल विषयवस्तुुबाट अलग गराउनु । जनतालाई भुल्याउनु । बारम्बार आइरहने यी चाडपर्वहरुको मक्सद विगतमा त्यही थियो । शासकहरु खराब नै थिए भन्न सकिँदैन तर तिनका सल्लाहकारहरुले शासकवर्गलाई प्रभावमा पारेर समाजमा यस्तो जाल बिच्छ्याए कि त्यो जाल नै आज धर्म र संस्कृतिको नाममा उपस्थित भइरहेको छ । हिन्दूकृत नेपाली समाज भारतीय संस्कृतिबाट दीक्षत प्रशिक्षित हुँदै गयो । राजा जयस्थिति मल्लले नेपाली समाजलाई पूर्ण रुपमा हिन्दूकरण गरे । जात विभाजन गरे । हिन्दू आचरणलाई कडाइकासाथ लागू गरे । नेपाली समाजमा चार जात छत्तिस वर्ण भन्ने त्यहीबेलादेखि चलेको चलन हो । त्यहीबेलादेखि नेपाली समाजमा उचनिचको धारणा कायम भयो । छुुवाछुतको संस्कार बस्यो । आजको लोकतान्त्रिक नेपालमा पनि यो छुुवाछुतको संस्कार कायमै छ । हिन्दू धर्म र विधानभित्रको खराब पक्ष यही हो । यसमा सामयिक सुधारको खाँचो छ । धर्मको आसय असल कार्य गर्नु हो । मानिस कोही पनि सानो र ठूलो हुँदैन । जातबाट नै मान्छे महान् हुने होइन । जातबाट नै मान्छे सानो हुने होइन तर यहाँ यस्तै गराइएको छ । धर्मको नाममा समाजमा कपटको जाल बिच्छ्याइएको छ र मानिसलाई पीडित गराइएको छ । धर्मले समाजमा भ्रम सिर्जना गरेको छ । अज्ञानतावश मान्छेहरु भ्रमलाई पनि यथार्थ मानिरहेका छन् । हाम्रा गाउँले पंडितहरुले समाजलाई धर्म के हो भन्ने नै सिकाएनन् । आफूलाई पुज्न मात्र सिकाए । कुरा बुझाएनन् । वास्तवमा परोपकारी कार्य गर्नु नै धर्म हो । अरुलाई हेप्नुहोच्याउनु कुनै पनि मानेमा धर्म होइन । वेदव्यासले स्पष्ट रुपमा भनेका छन् : परोपकार च पुण्याय पापाय च परपीडनम । धर्मको सार यही हो । धर्म गर्छु भन्नेले असल काम गरे भइगयो । तर लोक यो मान्दैन । लोक यो जान्दैन । छोएको नखाएर धर्म हुन्छ । माला जपेर धर्म हुन्छ । अर्थ नबुझे पनि गीता पाठ गरेर धर्म हुन्छ । दशैंमा टीका लगाएर आशीर्वाद थाप्दैमा सबथोक प्राप्त हुन्छ भन्ने मान्दछ यो समाज । त्यसैले दशैंलाई ठूलाबडालाई मान्न जाऊ भन्ने मानेमा अथ्र्याइएको छ । राजाका हातबाट टीका लगाऊ । राष्ट्रपति प्रधामन्त्रीका हातबाट टीका लगाऊ भन्ने संस्कार विकसित भएको छ । टीका थाप । ढोगभेट गर । दशैं यत्तिनै हो । धर्ममा जनताको सामुहिक भावना प्रकट भएको हुन्छ । धर्म र संस्कृति जनताको आस्था र विस्वासको प्रतीक हो । धर्म र संस्कृतिमा कतिपय कुराहरु थपिँदै जान्छन् र कतिपय कुराहरु मेटिँदै जान्छन् । विगतमा दशैंलाई राष्ट्रिय चाडको रुपमा स्थापित गरियो । दशैं हिन्दुहरुको मात्र नभएर आम नेपालीहरुको पर्व बन्न पुुग्यो । लामो विदा दिने गरियो । कर्मचारीलाई दशैं मान्न भनेर एक महिनाको तलब बराबरको भत्ता दिइयो । कुनै दिन सरकारले यो विचार गर्ला कि दशैं सबैको चाड हो, कर्मचारीको मात्रै होइन र चाह्यो भने सरकारले गरिब जनताका लागि दशैं भत्ताको व्यवस्था गर्न पनि सक्छ । आजसम्मको हाम्रो दशैं खानेपिउने रमाएर दिन कटाउने बाहना बन्दै आएको छ । दशैंको नाममा कसैले कुनै रचनात्मक काम गरेको अहिलेसम्म सुन्न पाइएको छैन । गरोस् न त कसै कसैले कुनै पुण्य काम । गरिवलाई दान दिओस् । ऋण मिनाहा गरिदिओस् । निशुल्क भोजनको प्रबन्ध होस् दशैंमा ।

दशैं लगत्तै तिहारः

दशैं सकिन्छ अनि तिहार आइहाल्छ । दशैंमा टन्न रक्सी पिएर सुतेको मान्छे तिहार आउँदा बल्ल होसमा आउँछ । यसरी लगातार चाडपछि चाड आइरहँदा यी चाडहरु किन आए होलान् जस्तो पनि लाग्छ । हाम्रा चाडपवहरुले विकास र सिर्जनामा बाधा पुर्याइरहेको तर्फ कसैको ध्यान पुगेको छैन । हाम्रो संस्कृति भन्यो त्यसैमा लिप्सी रह्यो । चाडपर्व मनाउने नाममा अनेक विकृतिहरु जम्मा भएका छन् । हाम्रो समाजमा यस्ता मान्छे पनि छन् जो खान पनि जान्दैनन्, लिन पनि जान्दैनन् र दिन पनि जान्दैनन् । सानासाना आँखा भएका । मनचाहिँ ठूलो भएका यस्ता मान्छे पनि समाजमा बस्छन् । लगातार आइरहने चाडपर्वले तिनीहरुलाई तिरन्तर सताइरहेको छ । चाडपर्व मनाउने नाममा फजुल खर्च हुने गर्छ । फजुल खर्चले वचत घट्छ । शिक्षा स्वास्थ्य आदि अत्यावश्यक क्षेत्रमा लगानी कम हुँदा दक्ष जनशक्ति उत्पादनमा बाधा पुुग्छ । देशैं चाडपर्वमय बन्दा विकासका कामहरु रोकिन्छन् । दशैंतिहार मान्ने अनि काममा जाने बानी नै भइसक्यो अब । दशैंतिहार छठसम्म विद्यालय बन्द गर्ने परम्परा बसिसक्यो । यसले बालबालिकाको दिनचर्यामा कस्तो प्रभाव पर्ला भनेर सोच्ने कोही छैन । समाज लहैलहैमा कुदेको छ । दुनियाँ चाडपर्वमा भुलेको छ । कतै यी चाडहरु जनतालाई भुल्याउन त आएका होइनन् ।

दशैंतिहार धार्मिक कि सांस्कृतिक ?

माथि नै भनिसकियो कि दशैं र तिहार नेपाली पहिचानलाई जीवन्त बनाइराख्ने हाम्रा महान् चाड हुन् । जहाँ नेपाली हुन्छ त्यहाँ दशैं मनाइन्छ, त्यहाँ तिहार मनाइन्छ । दशैंतिहारसँग केही धार्मिक मिथक पनि जोडिएका छन् । दशैंलाई विजयोत्सवका रुपमा र तिहारलाई सामाजिक स्वतन्त्रताका रुपमा लिने गरिन्छ । धार्मिक मतहरुमा यसो भनिएको छः दशैं असत्यमाथि सत्यको विजयको प्रतीक हो दानवीय शक्तिमाथि दैवीशक्तिको जितको प्रतीक हो । उहिल्यै त्रेता युगका रामले दुर्गा भगवतीका कृपाबाट आफ्नो समयको सर्वाधिक शक्तिशाली रावणलाई उसको घर फुटाएर विभीषणलाई आफ्नो पक्षमा मिलाई लङ्का विजय गर्न प्राप्त गरेको सफलताको खुसीयाली मनाउने परम्परा विकसित हुँदै दशैको रुपमा स्थापित भएको पाइन्छ । त्यसैले दशैंमा दुर्गा भगवतीको धूमधामका साथ पूजा आराधना गरिन्छ । शक्तिपिठहरुमा बली दिइन्छ । बली दिनै पर्छ भनेर कतै भनिएको छैन । शास्त्रमा विप्र वलिम वर्जितम भनिएको छ । देवीदेवताको पुजाआजा हुनु धार्मिक कार्य हो । खानुपिउनु नाचगान गर्नु खेल्नु रमाउनु भेटघाट गर्नु आफन्तलाई मान्नु आफन्त कहाँ कोसेली सिसार बोकेर मान्न जानु सामाजिक सांस्कृतिक कार्य हो । तिहार दशैंभन्दा अलि भिन्न खालको चाड हो । दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायुको कामना गरी मीठो खान दिएर दाजुभाइलाई प्रशन्न बनाउने परम्पराको विकसित रुप नै तिहार हो । यसले दिदीभाइको प्रेम र असल सम्बन्धलाई झल्काउँछ । यो सामाजिक सांस्कृतिक पक्ष हो । तिहारमा जुुवातास खेल्नु सामाजिक विकृति हो । संस्कृतिको गलत व्याख्याबाट समाजमा जुवातासको जरा गाडिएको हो । तिहारमा जुवातास देउसीभैलो खेलेर रमाइलो गर्नु सांस्कृतिक पहिचान होइन । बली राजाको मिथकमा प्रश्न उठेको छ । हिन्दुहरुले यो मिथकलाई जबरजस्ती तिहारसँग जोडेको आरोप पनि छ । बली भनेका पारुहाङ हुन् । उनको राज्य छलकपटपुर्ण तरिकाबाट हरण गरिएको मत पनि भेट्टाइएको छ । भगवानको वामन अवतारबाट बली राजाको पतन भएको मिथक हिन्दू धर्मको शास्त्रगत मान्यता रहेको देखिन्छ । इमानदार राजा बलीलाई पतन गराउनुपर्ने नैतिक आधार देखिन्न तर देवताहरुको स्वार्थ रक्षाका लागि बलीको पतन गराउन भगवानको वामन अवतार भएको हिन्दू शास्त्रमा उल्लेख छ । बली बिरोचनका पुत्र भक्त प्रल्हादका सहोदर नाति हुन् । दशैंका सन्र्भमा अनेक मतहरु छन् । भारत वर्षमा नेपालभन्दा भिन्न तरिकाबाट दशैं मनाइन्छ । टीका लगाइँदैन । जमरा लगाइँदैन । शक्तिपिठहरुमा धूमधामका साथ देवी दुर्गा भगवतीको पूजा आराधना गर्नु गराउनु चण्डी पाठ पढ्नु पढाउनुलाई बढी महत्व दिइन्छ । नेपालमा जस्तो खानपानलाई त्यति धेरै महत्व दिइन्न । नेपालको मिथिला क्षेत्रमा पनि भिन्न तरिकाबाट दशैंतिहार मनाइने गरिन्छ । मिथिला क्षेत्रमा विशेष गरी पूजाआराधनामा बढी ध्यान दिइन्छ । नवरात्रभरि अघिपछि माछामासु खानेले पनि घरमा माछामासुको भोजन गर्दैनन्, गराउँदैनन् । हामी बाँकी नेपालीको दशैं टन्नसँग खानु र हल्ला गर्नु हो । दशैं भनेकै धेरैले पेटभरि खानु भन्ने मात्र बुझेको छ । नेपाली समाजले दशैंको विधानलाई बिर्सँदै गएको हो कि भन्ने प्रतित हुन्छ ।

हिन्दू धर्म शास्त्रको सन्देश के हो ?

हिन्दू धर्मको मुख्य सन्देश हो विश्व शान्ति र मानव कल्याण । जसबाट जेबाट जसरी हुन्छ विश्व शान्ति र मानव कल्याण नै यस धर्मको अभिष्ट हो । हिन्दू धर्म शास्त्रले कुनै पनि कुरा सिधै नभनेर विभिन्न कथा र दृष्टान्तद्वारा घुमाउरो पारामा ती कुरा प्रस्तुत गरेको हुन्छ । गाउँघरका नाम मात्रका पंडितहरुले शास्त्रको सही व्याख्या गर्न नसक्दा हिन्दू धर्मप्रति नकारात्मक विचार राख्ने वा नित्य आचरणको पालना नगर्ने प्रवृत्ति पनि बढ्दो छ । ती पंडितहरु जो शास्त्रमा उल्लेखित दृष्टान्तलाई आफ्नै आँखाले देखेजस्तो गरी प्रस्तुत गर्छन् । अवैज्ञानिक र अपत्यारिला कुराहरु फलाक्छन् त्यसरी त धर्मको गरिमा बढ्दैन । हिन्दू धर्म र संस्कृति भित्रका शास्त्रगत मान्यताहरुको सही यथार्थपरक व्याख्या हुनु आवश्यक देखिन्छ ।

निष्कर्षः

सबै धर्मको उद्देश्य एउटै हो । सबै धर्मले मानव कल्याणको दिशाबोध गरेका छन् । फरक फरक धर्मको मार्गमा हिँड्नु र आफ्नो आफ्नो आस्था र विश्वास अनुसार धार्मिक आचरण गर्नु नागरिक स्वतन्त्रता हो । हाम्रो संविधानले सनातन धर्मको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको तर धर्म परिवर्तन गर्ने स्वतन्त्रता दिएको छैन । अहिलेको नेपाल धर्म निरपेक्ष राज्य हो । यसको मतलब हो राज्यको कुनै धर्म हुँदैन । धर्म जनताको आस्था र विस्वास हो । जनता आफ्नो खुसी अनुसार विभिन्न धर्मको मार्गमा चल्छन् । हिन्दूू धर्म र संस्कारसँग जोडिएका कतिपय आलोच्य विषयहरु हुँदाहुँदै पनि हामी हिन्दू धर्मको विपक्षमा जान सक्दैनौं । किनभने त्यसो गरे हाम्रो पहिचान मेटिन्छ । हामीले दशैंतिहार मानेनौं भने हाम्रो संस्कृति मासिन्छ । हाम्रो संस्कृति मासियो भने हाम्रो पहिचान हराउँछ । हाम्रो नेपाली संस्कृतिको निमार्ण एक दुई दिनमा भएको होइन । नेपाली संस्कृतिको निमार्णमा पुर्खाको ठूलो देन छ । हाम्रा पुर्खाले दुखले निमार्ण गरेको यो संस्कृतिलाई जोगाइराख्नु हामी सबैको धर्म यही हो । हाम्रो संस्कृति बिग्रियो भने सुधार गर्ने पनि हाम्रो नै हो । दशैंतिहारको आगमनबाट नेपाली नेपालीका बीचमा अझ बढी हार्दिक मित्रता, प्रेम र सद्भावना पलाउँदै जाओस् । दशैंतिहारको सबैलाई शुभकामना !!!

(अधिकारीको यो लेख सफल नेपाल राष्ट्रिय साप्ताहिकको २०७६ असोज १६ गते विहीबारको अंकमा प्रकाशित भएको छ । )

 


ताजा खबर