क्रिकेटर सोमपाल कामी र बैंकर प्रतिभा घिमिरे वैवाहिक बन्धनमा : सामाजिक रीति बमोजिम गरे विवाह

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिनुभएको हो ।

आफन्त र परिवारजनको उपस्थितिमा सामाजिक रीति बमोजिम दुबैजनाको विवाह भएको हो । करीब छ वर्षअघि नेपालञ्जमा क्रिकेट प्रतियोगिता खेल्दा पहिलोपटक दुबैजनाबीच भेटघाट भएको थियो । उक्त भेटघाट मित्रतामा कायम हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो । घिमिरे हाल काठमाडौंमा सानिमा बैंकमा कार्यरत हुनुहुन्छ ।

२४ वर्षीय सोमपाल नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै छ अन्तर्राष्ट्रिय एकदिवसीय र २८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । गुल्मीमा जन्म भई भारतमा किशोर अवस्था बिताउनुभएका सोमपाल नेपाली राष्ट्रिय टोलीका अलराउण्डर हुन् ।

सो अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खडकाले सोमपाललाई सामाजिक सञ्जालमा बधाई दिनुभएको छ । – रासस


ताजा खबर