टिपर चालकले खाए सामूहिक सपथ : अब लापर्बाही नगर्ने गरे बाचा

लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले सपथ खएका छन् । उनीहरुलाई ट्राफिक प्रहरी र व्यवयासीले दुर्घटना कम गर्नका लागि प्रतिबद्धतासहित सपथ खुवाएका हुन् । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले लिखित प्रतिबद्धतासहित सपथ खुवाए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल तामाङसमक्ष १० बुँदे प्रतिबद्धता जनाउँदै उनीहरुले सपथ लिए । बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम तामाङले भने, ‘चालक आफैं सचेत नभएसम्म दुर्घटना न्यूनिकरण नहुने रहेछ । र, हामीले थप जिम्मेवार बनाउन यस्तो प्रतिबद्धतासहित सपथ खुवाएका हौँ ।’

उनीहरुको सपथमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने उल्लेख छ। यस्तै, उनीहरुले क्याबिन र ढालामा यात्रु नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधैं साथमा राख्ने जस्ता प्रतिबद्धता गरेका छन्।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले टिप अनुसार भत्ता पाउने नियमका कारण तीव्र गतिमा चलाउँदा टिपर बढी दुर्घटनामा पर्ने गरेको बताए। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले टिपरबारे सर्वसाधरणको धारणा राम्रो बन्न नसकेको भन्दै जिम्मेवार भएर चलाउन भने ।

काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्छन्। सवारी दुर्घटनाको ग्राफ हेर्दा कुल दुर्घटनामा ५० प्रतिशत टिपरको संलग्न हुने तथ्याँक देखिन्छ। गएको आर्थिक वर्ष २०७५–०७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालउ काभ्रेका अनुसार यो आर्थिक वर्षमा ३७ जनाको मृत्यु भएकोमा ११ जना टिपरकै कारण मारिएका छन् ।


ताजा खबर