बारामा घरेलु मदिरा बनाउने क्रममा पाँच जनाको मृत्यु

बारामा बुधवार राति आठ बजेतिर अवैध घरेलु मदिरा बनाउने क्रममा एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मदिरा बनाउन घरमै बनाइएको सेप्टिक ट्याङ्कीजस्तो ट्याङ्कीमा फेटा गाँउपालिका-४ बतराका पाँचजनाको शव फेला पारिएको हो।

मदिरा बनाउने क्रममा ज्यान गुमाएकाहरूको मृत्युको यकिन कारण अझै स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।

घटनापछि पूरै गाउँ शोकमग्न भएको छ। घटनाबारे सुनेर स्तब्ध भएको एक स्थानीय महिलाले बताइन्।

उनले भनिन्, “राति हामी आफ्नो घरमा थियौँ। म रोटी पकाउँदै थिएँ। छोराले गाउँमा त मान्छे मरेका छन् भन्यो। दौडेर जाँदा पाँचैजना मदिरा बनाउने ट्याङ्कीमा डुबेका थिए।”

मृत्यु हुनेमा ४० वर्षीय जोगा मुखिया बिन र उनका कान्छो भाइ महेन्द्र मुखिया बिनको परिवार एउटै घरमा संयुक्त रूपमा बस्दै आएको स्थानीयवासीले बताएका छन्।

घटनामा जोगा मुखिया बिनकी पत्नी, उनकी छोरी, उनका भाइ महेन्द्र र त्यसमा काम गर्ने एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेका बाराका प्रहरी उपरीक्षक विकासराज खनालले भने, “त्यहाँ भेन्टिलेशन नभएको र मदिराको अत्यधिक गन्ध आइरहेको भएर निस्सासिएर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान छ।”

“शवहरू देखे पनि भित्र छिर्नै नमिल्ने गरी मदिराको गन्ध आइरहेको थियो। घरभित्रको पर्खाल फुटाएर शव झिक्न भित्र छिर्नुपर्‍यो।”

मृतक मुखिया बिनको घरमा लामै समयदेखि अवैध रूपमा घरेलु मदिरा उत्पादन हुँदै आएको स्थानीयवासीको भनाइ छ।

अवैध घरेलु मदिरा नियन्त्रणका क्रममा सुरक्षा निकायले बिन परिवारको मदिरा भट्टी पटक-पटक नष्ट गरेपछि यसपालि उनीहरूले अरूले थाहा नपाउने गरी नयाँ तरिकाले काम गरिराखेको अवस्थामा घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीले हालसम्म बारामा विभिन्न ठाउँमा छापा मारेर घरेलु मदिरा उत्पादन गर्ने भट्टी र भाँडाकुँडा नष्ट गर्दै आएको बताएको छ।

प्रहरी उपरीक्षक खनालले भने, “गत आर्थिक वर्षदेखि गत १४ महिनाको अवधिमा चार सय ६३ वटा घरेलु मदिरा भट्टी नष्ट गरिएको छ।”

घरमा लुकीछिपी उत्पादन गरिने यस्ता घरेलु मदिरा कानुनी रूपमा अवैध भए पनि स्थानीय खाजा पसल लगायतका ठाउँमा विक्री वितरण हुने गरेको र आफूहरूबाट नष्ट गर्ने अभियान पनि निरन्तर चल्दै आएको प्रहरीको भनाइ छ।


ताजा खबर