होटलकै लापरबाहीका कारण दामन दुर्घटना : व्यवस्थापकीय लापरबाही देखियो

दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ६ माघमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु हुनुमा व्यवस्थापकीय लापरबाही देखिएको छ।

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएपछि पर्यटन विभागका सह–सचिव सुरेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले १० माघमा घटनास्थल पुगेर सत्यतथ्य बुझ्ने काम गरेको छ ।

घटनाको छानबिन गर्न समितिलाई १५ दिनको समय दिइएको छ । समितिका एक सदस्य भन्छन्, “प्रारम्भिक अध्ययन गर्दा होटल व्यवस्थापकको कमजोरी देखिन्छ, सबै विवरण प्रतिवेदनमा समेट्ने छौं ।”

एभरेष्ट पानोरामा २० वर्ष पुरानो रिसोर्ट हो । दामन क्षेत्रकै प्रख्यात र सुविधासम्पन्न मानिएको रिसोर्टमा गर्मी तथा जाडोको विकल्पमा एसीको प्रयोग नहुनु तथा कोठामा ‘गार्डेन’ ग्यास हिटर लगेर फिट गरिदिनुलाई छानबिन समितिले होटलको लापरबाही मानेको छ ।

होटल व्यवस्थापन पक्षले शुरूमा रेस्टुरेन्टमा बलिरहेको ग्यास हिटर बास बसेका पर्यटकले जबर्जस्ती लगेको बताएको थियो ।
रिसोर्ट व्यवस्थापक शिव केसीले छानबिन समितिले आफूहरूलाई यसबारेमा बाहिर नबोल्न निर्देशन दिएकाले केही नबोल्ने बताए । व्यवस्थापक केसी भन्छन्, “उच्चस्तरीय छानबिन समितिमा बयान दिएका छौं, हामीलाई कोही कसैसँग नबोल्नु भनेर निर्देशन दिनुभएको छ ।”

ॐ अस्पतालका बरिष्ठ छाती रोग विशेषज्ञ डा.सुबोध सागर ढकालका अनुसार सामान्य खालको ग्यास हिटरले भन्दा गार्डेन ग्यास हिटरले कार्वन मोनोअक्साइडको मात्रा बढाउँछ । कोठाको झयाल–ढोका बन्द रहेकाले अक्सिजनको अभाव भई विषाक्त ग्यास भरिएर उनीहरूको मृत्यु हुन पुगेको डा.ढकाल बताउँछन् ।

“ठूलो कोठा र झयालढोका खुला भएको भए त्यो दुर्घटना नहुन सक्थ्यो” उनी भन्छन्, “लापरबाहीको पराकाष्ठा नै हो, ग्यास हिटर बाल्दा त्यसबाट उत्पन्न हुनसक्ने जोखिम बारे पाहुनालाई बताएर जाडोमा सिरक थपिदिनुपथ्र्यो ।” जबर्जस्ती गरे भन्दैमा गार्डेन हिटर कोठामा लैजान दिनु नै कमजोरी भएको उनको भनाइ छ ।

मृतकको पोस्टमर्टम रिपोर्टले कार्वन मोनोअक्साइड ग्यासको विषाक्तता नै मृत्युको कारण बनेको पुष्टि गरेको छ । मृत्युको कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागले पहिचान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा केरलाको तिरुवनन्तपुरमका ३८ वर्षीय प्रवीणकृष्ण नायर, ३५ वर्षीया शारण्य शशी तथा उनीहरूका सन्तान ९ वर्षीया श्रीभद्र, ७ वर्षीया आर्चा प्रवीण र पाँच वर्षीय अभिनव नायर छन् । त्यसैगरी ३४ वर्षीय रञ्जित कुमार टीबी, ३४ वर्षीया इन्द्र लक्ष्मी र उनीहरूका दुई वर्षीय छोरा वैष्णवको पनि मृत्यु भएको थियो ।

भ्रमण वर्षलाई धक्का !

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । तर, भ्रमण वर्ष शुरू भएको महीनामै आठ जना पर्यटकको मृत्यु हुनुले नकारात्मक सन्देश प्रवाह हुनसक्ने पर्यटन व्यवसायीको चिन्ता छ ।

“दामनमा भएको घटना कुनै नियोजित नभएर दुर्घटना हो, तर यस्ता घटनाले समग्र पर्यटन क्षेत्रमै नकारात्मक सन्देश जान सक्छ” होटल एशोसिएसन नेपाल (हान) की अध्यक्ष सिर्जना राणा भन्छिन्, “होटल तथा पर्यटन व्यवसायीहरूका लागि हामी सबैको प्रयासमा सरकारबाट हालै मात्र निर्देशिका जारी भएको छ, हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।”

होटल, लज, रेस्टुराँ, रिसोर्ट, बार तथा पथप्रदर्शक नियमावली–२०३८ को संशोधित व्यवस्था अनुसार कोठामा पर्याप्त प्रकाश आउने र हावा खेल्ने ठाउँ हुनुपर्ने उल्लेख छ । त्यसैगरी ऋतु अनुसार पङ्खा वा हिटरको व्यवस्था हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

हानकी अध्यक्ष राणाले सामान्य होमस्टेदेखि ठूला तारे होटलहरूले समेत नियमावली कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै विशेषज्ञ सम्मिलित एउटा टीम बनाएर होटल अनुगमनको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । -हिमाल खबरबाट


ताजा खबर