नेकपाले गर्ने भयो महरालाई अनुशासनको कारबाही

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ।

बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । मंगलबार बसेको सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन सुझाव दिए पनि महराले सभामुख पदबाट घुमाउरो शैलीमा राजीनामा बुझाएका थिए। नेकपा एक सचिवालय सदस्यका अनुसार बैठकले दिएको सुझाव कार्यान्वयन नगरेकाले अब संसदीय दलको बैठकमा उनलाई नबोलाइने बताए।

संविधानको कुन धाराअनुसार राजीनामा गरेको भन्ने कुरासमेत आफ्नो राजीनामा पत्रमा उल्लेख नगरेको र पार्टीले दिएको सुझावसमेत नमानेकाले पार्टीले आवश्यक कारबाही प्रक्रियाअघि बढाउने नेकपा स्रोतले जनाएको छ। पार्टीले दिएको सुझावअनुसार राजीनामा नदिएकाले अब पार्टीले उनले अनुशासनको कारबाही गर्ने स्रोतको दाबी छ । पार्टीले दिएको सुझाव कार्यान्वयन नगरी अनुशासन उल्लंघन गरेका महरालाई सांसद पदबाट समेत पार्टीले कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ ।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत हटाउने तयारी नेकपाले गरेको छ । ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनै पनि सदस्यलाई दलबाट निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ । यसरी निष्कासन महराको सांसद पद स्वतः रिक्त हुनेछ ।


ताजा खबर