दशैँ: सरकारले खसीबोकाको मूल्य तोकेपछि व्यापारी आक्रोशित

सरकारले दशैँका लागि खसीबोका र च्याङ्ग्राको मासुको मूल्य निर्धारण गर्दा व्यापारीहरू आक्रोशित बनेका छन्।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको ७३० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको छ।

विभिन्न कारणले खसीको मासुको मूल्य अझ बढ्ने अनुमानबीच सरकारले कम मूल्य तोकेको हुनाले खसीबोका व्यवसायीहरूले लागत मूल्य पनि उठाउन कठिन रहेको दाबी गरेका छन्।

सरकारले भने निजी क्षेत्रको मनोमानी रोक्न र उपभोक्तालाई केही राहत प्रदान गर्न खरिद मूल्यमा भन्दा कम दरमा झन्डै ३००० खसीबोका बेच्ने जनाएको छ।

व्यवसायीहरूले भने लोकप्रियताका लागि र उपभोक्तालाई भ्रमित बनाउन सरकारले त्यसो गरेको आरोप लगाएका छन्।

दशैँको बेलामा काठमाण्डू उपत्यकामा मात्रै झन्डै ६० हजारवटा खसीबोका बिक्री हुने अनुमान छ।


ताजा खबर