‘यौन दुर्व्यवहारमा पीडितले बोली फेरे पनि अनुसन्धान रोक्न मिल्दैन’

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे पीडित भनिएकी महिलाले आफ्नो भनाइ फेरे पनि अनुसन्धान रोक्न नमिल्ने फौजदारी कानुनका जानकारहरूले बताएका छन्।

फौजदारी कसुरको आरोपमा सूचना पाउने बित्तिकै प्रहरीले अनुसन्धान गर्नैपर्ने बाध्यतात्मक अवस्था रहेकाले अनुसन्धान रोक्न नमिल्ने उनीहरूको तर्क छ।

सङ्घीय संसद्‍ सचिवालयमा कार्यरत एकजना महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले मङ्गलवार राजीनामा दिएका थिए। महराले आफूमाथि लागेको आरोपलाई निराधार भन्दै खण्डन गरिसकेका छन्।

मङ्गलवारै पीडित भनिएकी महिला आफैँले उक्त आरोपको खण्डन गरेको एउटा भिडिओ सार्वजनिक भएपछि भने प्रहरी अनुसन्धान अघि बढ्छ वा बढ्दैन भन्दै धेरैले प्रश्न उठाएका छन्।

फौजदारी कानुनका जानकारहरूका अनुसार पीडित भनिएकी महिलाले विभिन्न सञ्चारमाध्यममार्फत्‌ महरामाथि लगाएको आरोपको आफैँले खण्डन गरेपनि प्रहरी अनुसन्धानबाट पछि हट्न मिल्दैन।

फौजदारी कानुनका एकजना जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्ग भन्छन्, “यो सामान्य अपराधको आरोप होइन, त्यसैले उजुरी आएन वा पीडित भनिएकी महिलाले बोली फेरिन् भन्दैमा अनुसन्धान रोक्न मिल्दैन।”

उनी पीडित भनिएकी महिलाले आइतवार राति फोन गरेपछि प्रहरी घटनास्थल पुगेर केही प्रमाणहरू पनि सङ्कलन गरेको अवस्थामा अब “सर्लक्कै पन्छिन” नमिल्ने बताउँछन्।

उनले भने, “यो घटनामा पीडित भनिएको व्यक्तिको स्वास्थ्य परीक्षण हुँदा र उनले जाहेरी दिँदा मुद्दा बलियो बन्छ। तर त्यसो भन्दैमा अनुसन्धानलाई किन पनि रोक्न मिल्दैन भने प्रहरीले आफैँले अनुसन्धान सुरु गरिसक्यो। पीडित भनिएको मानिसको घरमा पुगेर प्रमाण सङ्कलन गरिसक्यो।”

उनले कतिपयले मानसिक रोगको उपचार गराइरहेको व्यक्तिले लगाएको आरोप वा भनेको कुरा प्रमाण हुँदैन भन्ने गरेकोतर्फ सङ्केत गर्दै उनले भने, “त्यसो भए बोल्न नसक्ने, सुस्त मनस्थितिका व्यक्ति वा कान नसुन्ने र आखाँ नदेख्ने व्यक्तिले भनेको कुरालाई नपत्याउने? कानुनले त्यसलाई प्रमाण नमान्ने भनेको छैन।”

फौजदारी कानुनका अर्का एक जानकार अधिवक्ता सतीशकृष्ण खरेल पनि अहिलेको अवस्थामा प्रहरीले अनुसन्धानलाई अघि बढाउनैपर्ने कानुनी बाध्यता रहेको बताउँछन्।

उनले भने, “पीडित भनिएको व्यक्तिले आरोपको खण्डन गरे पनि वा नगरे पनि यसमा फौजदारी कानुन आकर्षित हुन्छ। यस्ता कसुरमा अनुसन्धान बन्द गर्न वा मिलापत्र गराउन पाइँदैन।”

खरेलका अनुसार प्रहरीले अनुसन्धान सुरु गरिसकेको कुरा पीडित भनिएको व्यक्तिको घरमा गएर त्यहाँका घरबेटीको रोहबरमा प्रमाण सङ्कलन गरेकाले देखिन्छ।

त्यस्तै महराले पनि अभियोग लागेको भनेर अनुसन्धानमा सहयोग गर्न भन्दै राजीनामा दिएसकेको अवस्थामा अब प्रहरीले त्यसलाई कुनै तार्किक निष्कर्षमा नपुर्‍याई नहुने उनले बताए।


ताजा खबर