कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त निर्णयपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीका लागि पहल गरेसँगै आज पुनः बैठक बस्न लागेको हो।

गत असोज २९ गते नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। १४औँ महाधिवेशनमा सहभागी कूल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गरेका हुन्।

कांग्रेस विधानअनुसार कूल प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ। आजको बैठकमा यस विषयमा थप छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। रासस


ताजा खबर