हिउँदे खाद्यान्न बालीको सुरक्षाका लागि मष्टा भगवती मन्दिरमा पूजाआजासहितको मेला सम्पन्न भएको छ । असिनापानीले बालीनाली नष्ट गरेपछि मष्टा भगवती माताको पूजाआजा गरी मेला लाग्ने प्रचलन रहिआएको किंवदन्ती छ । प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगवती मेला देहीजाँतको ठिक एक महिनापछि हुने मष्ठा भगवती र नवदुर्गा जाँत विधिवत रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरमा हुने विभिन्न देवीदेवताका वार्षिक मेला सकिन्छन् । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।
नवदुर्गा गाउँपालिका–१, भाणिवन डाँडामा रहेको मष्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते बिसु जाँत, दसैँका दिन दसैँ जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत रूपमा यस क्षेत्रका पाँच गाउँबाट बाजागाजासहित धामी काप्दै नेजाध्वजा लिई चोलो आएपछि भाका बैजाली हुन्छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार न्वाघर, सेटी गाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ । यससँगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मष्ठा भगवतीको जाँत सम्पन्न हुन्छ ।
असिनापानीले स्थानीयले लगाएको अन्न बालीसँगै फलफूल नष्ट पारेपछि गाउँ गाउँमा अनिकाल निम्तियो । अनिकालको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसँगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको नवदुर्गा गाउँपालिका अध्यक्ष अवस्थीले बताउनुभयो ।
मष्टा भगवतीमा नयाँ वर्ष बिसुपर्व र दसैँमा बोका राँगाको बलिसमेत दिइन्छ । नवदुर्गा–१, कोटेलीका स्थानीयवासी बोहोरा परिवारले प्रत्येक वर्ष बिसुपर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बलि दिइने प्रचलन छ । उहाँले भन्नुभयो, “अरूहरूले मनोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बलि दिने गरेका छन् ।” आफूले कुनै बर मागे अनुसार प्राप्त गरिसकेपछि बलि दिने चलन रहेको छ ।
असिनापानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मष्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाबाट समेत श्रद्धालु भक्तजन मष्टा भगवतीमा पुग्ने गरेका छन् । नवदुर्गा गाउँपालिकाको वडा नं. १ र २ को सिमाना रहेको अग्ला अग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मष्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणिय स्थानमा मन्दिर छ । डडेलधुराका विभिन्न मन्दिरमा लाग्ने वार्षिक ठुला मेलामध्ये मष्टा भगवतीको मेलालाई अन्तिम जाँत रूपमा लिइने भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेलधुराका अधिकांश स्थानबाट स्थानीय पुग्ने गरेका छन् । रासस























