१५ वर्षपछि प्रतिगन्ध उपन्यासका साथ सरुभक्त

साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो ।

अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गर्नुभएको हो । लामो समय पछि आउनुको कारणबारे आफैँ प्रष्टाउँदै उहाँले भन्नुभयो, “म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।” प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उहाँले बताउनुभयो ।

सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव सुनाउनुभयो । उहाँले यसका २५० पृष्ठ हटाएको भन्दै झण्डै झण्डै एउटा उपन्यास नै हटाएको बताउनुभयो । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताउनुभयो ।

पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्तरुपमा प्रतिगन्धको आइतबार लोकापर्ण गर्नुभएको हो ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको बताउनुभयो । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुतिनै उहाँको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गजबको भएको अनुभव सुनाउनुभयो ।

नथिया कि लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताउनुभयो । एउटै उपन्यासभित्र चार/पाँच वटा उपन्यास पढेजस्तै लाग्ने यसभित्र विदेशिने युवाको जीवन्त कथा भएको बताउनुभयो ।

आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताउनुभयो । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रुपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ । पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेहरुको मार्मिक कथा भएको बताउनुभयो ।

सरुभक्तको पागल बस्ती उपन्यासको नयाँ प्रयोगले उहाँलाई मदन पुरस्कारसमेत दिलाएको थियो भने उहाँका अभिमन्यु, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् उहाँको प्रतिगन्ध साताैँ उपन्यास हो । उहाँका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन् ।


ताजा खबर