त्रिकोणात्मक टी-२० सिरिज : सिंगापुरविरुद्धको खेल जित्नै पर्ने दबाबमा नेपाल

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार साँझ घरेलु टोली सिंगापुरसँग खेल्दैछ ।

सिंगापुरस्थित इण्डियन एसोसिएशनको मैदानमा हुने खेलमा नेपालले जित हासिल गर्ने उद्देश्यका साथ सिंगापुरविरुद्ध मैदानमा उत्रँदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । यस प्रतियोगिताको उपाधि जित्नका लागि नेपाललाई बुधबारको खेल जित्नैपर्ने दबाब छ ।

त्यसकारण पनि बुधबारको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । यता, सिंगापुर नेपालसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ । यस सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भयो ।

त्यस्तै सिरिजको दोस्रो खेलमा सिंगापुरले जिम्बाब्वेलाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ । यसअघि तीन खेल खेलेको नेपालको दुई अङ्क छ । त्यस्तै शीर्ष चार अङ्क जोडेको जिम्बाब्वे शीर्ष स्थानमा छ ।

आयोजक सिंगापुर दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । सिंगापुरले अन्तिम खेल भोलि जिम्बाब्वेसँग खेल्नेछ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको यस सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

नेपाली टोली सिंगापुरबाटै सिधै ओमान जानेछ । ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टी-ट्वेन्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछन् ।


ताजा खबर