शान्ति सुरक्षाका लागि आवश्यक पहल लिइएको छ

नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकता अनुसार पहल लिइएको जनाएको छ ।

नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिका प्रति विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न राय सुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति आभार व्यक्त गरेको छ ।

आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी आवश्यकता अनुसार पहल लिएको विज्ञप्तिमा उल्लेख छ ।

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषणका लागि नेपाली सेनाले अपिल गरेको छ ।


ताजा खबर