बेइजिङमा ‘भ्रमण वर्ष २०२०’ कार्यक्रमको आयोजना

चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रबर्ध्दनका लागि पुस २२ गते  बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिनुभयो । सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत अशोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिनुभएको शुभकामना स्मरण गर्नुभयो । उहाँले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।

बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताउनुभयो । भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्ष सफलताका लागि नेपालको पर्यटन प्रवद्र्धनमा पूर्ण रुपले सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरकारका प्रतिनिधि, कूटनीतिक क्षेत्र, निजी क्षेत्र र व्यावसायिक क्षेत्र र नेपाली समुदायकोे उपस्थिति थियो । दूतावासले कुमारी नृत्यबाट सहभागीलाई स्वागत गरेको थियो भने उनीहरुलाई नेपाली खाना दिइएको थियो । सो कार्यक्रममा भ्रमण वर्षका बारेमा प्रस्तुति गरिएको दूतावासले जनाएको छ ।  -रासस


ताजा खबर