चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै देशभर चिकित्साकर्मीहरु आन्दोलनमा रहेका छन्।
उनीहरुले नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज कार्यरत अस्पतालमा धर्ना कार्यक्रम गरेका छन्।
नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनमा ऐक्यवद्धता जनाउँदै काठमाडौंको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत चिकित्साकर्मीहरुले पनि अस्पताल अगाडि धर्ना दिएका छन् । संघको घोषित कार्यक्रम अन्तर्गत आज एक घण्टा कार्यस्थलमा धर्ना कार्यक्रम गरिएको ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले सफल नेपाललाई बताउनुभयो ।
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउनेलगायत रहेका छन्।




आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ ऐक्यबद्धता जनाएका छन्।
संघले उपभोक्ता अदालतद्वारा चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाइएको फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रसँग बाझिएकोमा आपत्ति जनाउँदै चरणवद्ध आन्दोलन गरिरहेको छ ।सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र ऐन संशोधन गरी नेपाल मेडिकल काउन्सिललाई मात्र चिकित्सकीय मुद्दा हेर्ने अधिकार सुनिश्चित गर्न संघले माग गरेको छ।