प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो, आज देश बाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।”
प्रधानमन्त्री ओलीले सन्देशमा रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।”
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन औपचारिक भ्रमणका लागि स्पेन प्रस्थान गर्नुभएको छ।