गीतकार, कवि, साहित्यकार तथा उद्योगपति वसन्त चौधरी आख्यानको संसारमा प्रवेश गरेका छन्।
प्रतिष्ठित उद्योगपति चौधरीको पहिलोे आख्यान देवयानी बुधबार ललितपुरको पुलचोकस्थित होटल द प्लाजामा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। देवयानी साहित्यकारहरूको सहभागितामा सम्पन्न समारोहमा आख्यानकोे कभरलाई आकर्षक शैैली र गार्फिक डिजाइनसहित श्रव्यदृश्यका साथ प्रस्तुत गर्दैै सार्वजनिक गरिएकोे सार्वजनिक पुस्तकबारे विभिन्न साहित्यकार तथा समालोेचकहरूले पुस्तकबारे गरेको समीक्षा श्रव्यदृश्य सामग्रीका रूपमा प्रस्तुत गरिएको थियो।
भिडियो समीक्षामा बोल्दै साहित्यकार उमेश सुवेदीले देवयानी उपन्यास विवाहेत्तर सम्बन्ध र त्यसबाट पर्ने मनोवैज्ञानिक प्रभावमा केन्द्रित रहेको चर्चा गरिन्। उनले उपन्यासको भाषा सरल र सुन्दर रहेको जनाउँदै आख्यानकार वसन्त आफनो उद्देश्यमा सफल रहेको बताइन्। साहित्यकार अमर न्यौपानेले निम्न वर्ग र गाउँका सामान्य मानिसको विषयमा उपन्यास आउने गरे पनि देवयानी सम्भ्रान्त र उच्च व्यावसायिक घरानाको सूक्ष्म ढंगले लेखिएको चर्चा गरे। न्यौपानेले वसन्त आख्यान लेखनमा पहिलो प्रयासमै सफल रहेको जनाउँदै लेखकलाई बधाई पनि दिए।
त्यसै गरी पत्रकार तथा लेखिका बबिता बस्नेतले उपन्यास रुचि भएकाले ४ सय १६ पृष्ठका भए पनि दुई सिटिङमै पढिसकेको जनाइन्। बस्नतले कता कता आफू र आफना वरिपरिका पात्रलाई पाएकाले पनि उपन्यास थप पठनीय र रुचिकर भएको बताइन्। ‘उपन्यासले अहिलेको समाजलाई सरसर्ती देखाएको छ। उपन्यासका नारी पात्रहरू सशक्त छन्। आफनो खुट्टामा उभिएका छन्। आफैँले कमाएका छन्, आफैँले गाडी चलाएका छन्। जीवन जिएका छन्’ बबिताले देवयानीको समीक्षा गर्दै भनिन् ‘यो विषय गाउँशहर जताततै मेल खाने खालको छ। मानिसहरू वैदेशिक रोजगारीका कारण विवाहेत्तर सम्बन्ध बढ्ने गरेको बताउँछन्। तर एउटै घरको छानमुनि बस्ने मानिसहरूमा पनि यस्तो भइरहेको छ ।
साहित्यकार विश्व विमोहन श्रेष्ठले नेपाली वाङ्मय क्षेत्रमा गीतकार, कवि र गजलकारका रूपमा प्रख्यात वसन्त चौधरी उपन्यासकारका रूपमा पनि सफल हुने सम्भावना देखिएको बताए। ‘पहिले उपन्यास कस्तो होला भन्ने लागेको थियो। राष्ट्रिय भावका कविता र प्रेमभावका गीतगजलमार्फत आफनो छुट्टै स्थान बनाउनु भएका वसन्तजीको प्रेमकथामा आधारित देवयानीबाट वर्तमान समाजको ऐना देखाएको छ। देवयानीबाट उपन्यासकारको कलमको खुबी देखिन्छ। यसले पाठकको मन जित्नेछ।’ अर्की साहित्यकार उषा शेरचनले चौधरीको गीत, गजल र रकविताका साथै आख्यान लेखनमा पनि कलात्मक हिसाबले राम्रो प्रस्तुति पाइएको बताइन्। ‘उहाँमा नेपाली, अंग्रेजी, हिन्दी र उर्दु भाषाको राम्रो ज्ञान हुनु प्लस प्वाइन्ट हो, जुन क्षमता सबै साहित्यकारमा नहुन सक्छ। देवयानी हृदयले पढ्ने उपन्यास हो’ उनको भनाइ थियो ‘यसले एक पाना पल्टाएपछि अर्को पाना पल्टाउन मजबुर गर्छ।
पढ्दै जाँदा नजिककै मानिसका अनुभव हुन्छ। उहाँको यो पहिलो उपन्यास भए पनि पहिलो लाग्दैन। उपन्यासका शव्दहरू निखारिएका छन्।’अर्की समालोचक तथा कवि कुमारी लामाले देवयानीको मुख्य विषय प्रेम रहेको र यस्तो खालको विषय समाजले भोगिरहेको घटनामा केन्द्रित भएर लेखिएको बताइन्।
समारोहमा अभिनेता दिव्यदेव पन्तले चौधरीका साथ पुस्तकबारे संवाद गरेका थिए। आख्यानतिर आकर्षित भएकोबारे अभिनेता पन्तले राखेको जिज्ञासामा चौधरीले लेखन यात्रा ५ दशक लामो भएपनि निरन्तर लेख्न थालेको ३ दशक भएको खुलाउदै गीत र कवितापछि लघुकथा लेखनको अनुभवले आख्यानको संसारमा आकृष्ट भएको बताए। ‘देवयानी लेख्न दुई वर्ष लाग्यो। लघुकथा लेख्दै आएकोले प्लटहरू क्रियट गर्न गार्हो भएन। पाठकको आफनो अपेक्षाबीचको चुनौतीलाई लिएर देवयानी लेखे“।’ प्रेमलाई नै विषय छानेको सन्दर्भमा चौधरीको भनाइ थियो ‘अनादि कालदेखि आजसम्म स्थिर रहेको कुरा भनेकै प्रेम हो। त्यसकारण यसको विषय नै प्रेम रोजेँ । विषय चुन्नु चुनौतीपूर्ण रहेछ। उपन्यासको विषय कमन सबजेक्ट पनि होइन। सबै यो अवस्थाबाट गुज्रेको भए पनि एसेप्ट गर्न नखोजेको प्लट गर्न धेरै समय लाग्यो। तर संवाद र पात्रमा प्रवेश गर्न चाहिँ त्यति गार्हो भएन।
‘देवयानीको आदित्य पात्रमा मैले कता कता तपाईंको झझल्को पाएँ ।’ दिव्यदेवले मन चोर्दै वसन्तसामु जिज्ञासा राखे। वसन्त भने लामो समयसम्म हाँसे। उनीसँगै दर्शकदीर्घा पनि लामै समय हाँसे। ‘लेखकले आफूले देखेको विषय र नजिकबाट देखेका घटनाहरूलाई आफनो लेखनमा समावेश गरेको हुन्छ। त्यसमा छोरीको पार्ट चाहिँ नजिकबाट देखेको साथीको रियल घटना हो’ वसन्तले भने ‘सबैको मुटु एउटै हो। लेख्दै गर्दा चित्त पनि दुख्यो। अरु त कसैसँग मिल्न गएमा केवल संयोग हुनेछ।’ अन्त्यमा उनले भने ‘मनले फेरि यस्तै उपन्यास, आख्यान लेखौँ भन्छ। तर शरीर र मस्तिष्कले साथ दिन्छ कि दिँदैन। कोसिस चाहिँ गर्नेछु।
समारोहमा साहित्यप्रेमीहरूले वसन्तको पुस्तक खरिद गरी उनको हस्ताक्षर पनि लिएका थिए। पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।