मेडिसिटी अस्पतालका चिकित्सकले नक्कली औषधि सिफारिश गर्दा बिरामीको ज्यान गयो
मेडिसिटी अस्पतालका चिकित्सकले क्यान्सर रोगीलाई भारतबाट नक्कली औषधि मगाएर प्रयोग गराउँदा ज्यान गएको भन्दै बिरामीको परिवारले अदालतमा मुद्दा हालेको छ।
१६ मार्च २०२४ मा भारतीय सञ्चारमाध्यममा क्यान्सर विरुद्धको नक्कली औषधि बेचेको आरोपमा दिल्ली प्रहरीले निरज चौहान सहितका व्यक्तिहरूलाई पक्राउ गरेको समाचार छापियो। अस्पतालका कर्मचारी, औषधि व्यापारी, फर्मासिस्ट र बिचौलियाको मिलेमतोमा नयाँ दिल्लीको गुरगाउँका अस्पतालमा क्यान्सर रोगीलाई नक्कली औषधि बिक्री गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ।
समाचार अनुसार आरोपित व्यक्तिहरूले क्यान्सर विरुद्धको महँगो औषधिका प्रयोग भइसकेका खाली शीशीमा नक्कली औषधि भरेर भारु एक लाखदेखि तीन लाखसम्ममा बेच्थे।
समाचार पढेर नेपालकी प्रतिभा (नाम परिवर्तन)को परिवार झस्कियो। झस्किनुको कारण थियो, उनै चौहानबाट प्रतिभाले अन्ननलीको क्यान्सर भएकी आफ्नी आमाका लागि साढे दुई वर्षअघि औषधि मगाएकी थिइन्।
क्यान्सर रोग विशेषज्ञ डा. पंकज बर्मन
उनकी आमालाई २०७७ सालदेखि २०७९ को बीचमा विभिन्न समयमा ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा. पंकज बर्मन सहितको टीमले उपचार गरेको थियो। डा. पंकजले नै औषधि किन्न भनेर भारतीय औषधि व्यापारी चौहानसँग सम्पर्क गराइदिएको पीडित परिवारको भनाइ छ। डा. पंकज पनि भारतीय नागरिक हुन्।
पीडित पक्षका अनुसार क्यान्सर भएको पत्ता लागेपछि आमालाई मेडिसिटी अस्पतालमा लगिएको थियो। डा. पंकजको टीमले केमोथेरापी विधिबाट उपचार गरेको थियो। त्यसपछि रेडियोथेरापी गर्न डा. बर्मनले सुझाव दिएपछि परिवारले आमालाई भक्तपुर क्यान्सर अस्पताल पुर्यायो। त्यहाँ २०७७ कात्तिक २३ गतेदेखि मंसीर २७ गतेसम्म उपचार गराइयो।
उपचारमा कुनै कसर बाँकी नराख्ने र जति पैसा लागे पनि गुणस्तरीय चिकित्सक भएका सुविधासम्पन्न अस्पतालमा उपचार गराउने परिवारको चाहना थियो। त्यस्तो अस्पताल मेडिसिटी भएको भन्दै त्यहीं लैजान आफन्तजन र शुभेच्छुकले सल्लाह दिए। पहिले आमाको उपचार गरेका डा. पंकजले पनि मेडिसिटीमै ल्याउन सल्लाह दिएपछि परिवारले २०७७ माघ २३ मा भर्ना गरायो।
मेडिसिटीमा डा. पंकज र डा. विजय साहको निगरानीमा उनकी आमाको उपचार शुरू भयो। उपचारका क्रममा विभिन्न चरणमा निभोलुम्याब इम्युनोथेरापी सहितका औषधि प्रयोग गरिएको थियो।
उपचारपछि क्यान्सर निको भयो, तर केही समयपछि नै बल्झियो। परिवारले अब कस्तो उपचार गर्ने भनेर डा. पंकज र डा. विजयसँग कुरा गरे। दुवै डाक्टरले किट्रुडा (पेम्ब्रोलिजुमाब) नामक औषधि सेवन गर्नुपर्ने सल्लाह दिएको प्रतिभा बताउँछिन्। उनका अनुसार शुरूमा यो औषधि मेडिसिटीमै पाइन्छ भनिएको थियो। तर पछि उक्त औषधि ज्यादै महँगो हुने र धेरै सावधानीपूर्वक उचित तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले नेपालमा यो औषधि नपाइने बताइयो।
भारतीय नागरिक निरज चौहानले औषधि सस्तो मूल्यमा भारतबाट उपलब्ध गराउने र मेडिसिटीमा आउने अन्य बिरामीलाई पनि उनीसँगै खरीद गर्न चिकित्सा सल्लाह दिने गरेको डा. बर्मनले बताएको पीडित परिवारको भनाइ छ। डा. पंकजले किट्रुडा औषधि प्रयोग गर्न २०७९ पुस ७ मा ‘प्रेस्क्रिप्सन’ गरिदिए। उनकै सल्लाह र सिफारिश अनुसार उनीहरूले चौहानसँग सम्पर्क गरी औषधि किनेर बिरामीलाई दिन थाले। क्यान्सर विरुद्धको औषधि किट्रुडाले बिरामीको प्रतिरक्षा प्रणालीसँग मिलेर क्यान्सरको उपचार गर्न सक्ने मानिन्छ।
तर त्यो औषधिले प्रतिभाकी आमाको स्वास्थ्यमा सुधार आएन। बरु उक्त औषधि एक महीना निरन्तर प्रयोग गर्दा स्वास्थ्य अवस्था झन् नाजुक हुँदै गयो। २०७९ माघ २६ मा त उनकी आमाको मृत्यु भयो।
उपचारका लागि भरमग्दुर प्रयास गरेको तर जटिल रोगकै कारण आमाको मृत्यु भएको मान्दै काजकिरियापछि परिवारका सदस्यहरू नियमित दिनचर्यामा फर्किए। आमा बितेको एक वर्ष पनि बितिसकेको थियो। त्यही बीचमा उनीहरूले भारतमा नक्कली औषधि बिक्रीको ठगी धन्दा चलाएको आरोपमा चौहान सहितका व्यक्ति पक्राउ परेको समाचार इन्डियन एक्सप्रेसमा पढे।
उनीहरूको मनमा शंका उब्जियो, चौहानबाट मगाएर आमाले सेवन गरेको औषधि पनि नक्कली त थिएन? किट्रुडाको नाममा नक्कली औषधि त पठाइएको थिएन?
आमालाई प्रयोग गरेको औषधि र त्यस कम्पनीका बारेमा थप खोजीनिती गर्न थाले।
भारतबाट मगाएर प्रयोग गरिएको किट्रुडा नामको औषधि नेपालमा दर्ता छ कि छैन भनेर औषधि व्यवस्था विभागमा बुझ्न गए। तर दर्ता नभएको औषधि उपचारमा गैरकानूनी रूपमा अस्पतालले प्रयोग गरेको पत्ता लागेको प्रतिभाको भनाइ छ। किट्रुडा प्रयोग गर्न भनेर चिकित्सकले सिफारिश लेखिदिएको समयमा (२०७९ पुस ७) विभागमा दर्ता थिएन। २०८१ वैशाख २१ गते मात्र विभागमा उक्त औषधि दर्ता भएको देखियो।
त्यसपछि प्रतिभाले कानूनी उपचारको बाटो रोजिन्। २०८१ भदौ १३ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिन्। उजुरीपत्रमा नेपाल मेडिसिटी अस्पताल, डा. पंकजकुमार बर्मन, डा. विजयकुमार साह र निरज चौहानलाई विपक्षी बनाएर उनीहरूबाट उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० बमोजिम क्षतिपूर्ति भराउन माग गरिएको छ। उनीहरूले चिकित्सकीय लापरवाही र कानून प्रतिकूल कार्य गरेकाले सात करोड रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ।
अहिले यो मुद्दा विचाराधीन छ।
अस्पतालले अदालतलाई दिएको जवाफ
मेडिसिटी अस्पताल विरुद्ध प्रतिभाको परिवारले दर्ता गरेको मुद्दाको जवाफमा अस्पतालले २०८१ पुस १४ मा ललितपुर जिल्ला अदालतमा प्रत्युत्तर पेश गरेको छ। अस्पतालकी कानून अधिकृत रहेकी अधिवक्ता मञ्जु फुयालले पठाएको लिखित जवाफमा उजुरीकर्ताले उठाएका प्रश्नबारे चार वटा स्पष्टीकरण छन्।
पहिलो, प्रतिभाकी आमाको उपचार मेडिसिटी र भक्तपुर क्यान्सर अस्पतालमा भएको स्वीकार गरिएको छ। तर त्यस बीचमा सन् २०२१ फेब्रुअरीमा भारतको पारस अस्पतालमा समेत उपचार गराएको तथ्य लुकाइएको अस्पतालको दाबी छ।
दोस्रो, नेपालमा दर्ता नभएको औषधि पनि उपचारमा प्रयोग गर्न सकिने भनिएको छ। औषधिको विशेष सिफारिश सम्बन्धी कार्यविधि, २०७४ को दफा ५ को उपदफा ८ मा नेपालमा दर्ता नभएको तर कुनै बिरामीलाई अत्यावश्यक रहेको भनी चिकित्सकले सिफारिश गरेमा ‘प्रेस्क्रिप्सन’ संलग्न गरी औषधिको परिमाण उल्लेख गरी औषधि व्यवस्था विभागमा विशेष आवेदन दिनुपर्ने कानूनी व्यवस्था रहेको अस्पतालले बताएको छ।
तर प्रतिभाकी आमाका लागि किट्रुडा नामको औषधि प्रयोग गर्दा विभागले स्वीकृति दिएको देखिंदैन।
तेस्रो, उजुरीकर्ताको परिवारले अस्पताललाई बुझाएको रकम समेत झूटो भएको दाबी गरिएको छ।
चौथो, अस्पतालले समाचारमा उल्लेख भएको व्यक्ति निरज चौहान र प्रतिभाका आमाले प्रयोग गरेको औषधि दिने व्यक्ति निरज चौहान एकै भएको आधार नभएको दाबी गरेको छ।
अस्पतालले अदालतमा पठाएको जवाफमा त्यहाँ काम गरेका डा. पंकजकुमार बर्मन र डा. विजयकुमार साहको बारेमा उल्लेख छैन।
मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राज राणा दुवै जना डाक्टरलाई कुनै कारबाही नगरेको बताउँछन्। उनका अनुसार दुवैले स्वेच्छिक रूपमा अस्पताल छोडिसकेका छन्।
चिकित्सकले व्यक्तिगत ढंगले गलत काम गरेकाले यस घटनामा अस्पताल जवाफदेह नहुने उनको भनाइ छ। “अदालतलाई हामीले लिखित जवाफ दिइसकेका छौं। विचाराधीन मुद्दा भएकाले धेरै बोल्ने कुरा भएन,” उनी भन्छन्, “डाक्टरले गरेको सिफारिश भएकाले यसमा अस्पताल जोडिंदैन।”
काउन्सिलको अधुरो छानबिन
डा. पंकज र डा. विजयले नक्कली औषधि सिफारिश गरेको समाचार बाहिरिएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन थाल्यो। काउन्सिलमा विदेशी चिकित्सक दर्ताबारे हेर्ने कमिटीले डा. पंकजले लाइसेन्स नवीकरण नगरी काम गरेको पाइएकाले कारबाही गर्ने निर्णय गर्यो।
विदेशी नागरिकका हकमा हरेक वर्ष दर्ताका लागि काउन्सिलमा निवेदन दिनुपर्छ। डा. पंकज कार्यरत चितवन मेडिकल कलेजलाई समेत पत्र पठायो।
अर्का डा. विजयलाई भने छानबिनको दायरामा ल्याएन। हिमाल खबर