~डा. चन्द्रमणी पौडेल
सिनियर कन्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट
सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने खतरा हुने चिकित्सकहरू बताउँछन्।
हृदयाघातको खतरा चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ।
तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो।
अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ ।
उहाँका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ।
पछिल्लो अध्ययनअनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन्।
जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्छन्। डा. पौडेल चुरोट छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताउनुहुन्छ।
उहाँका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ । त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिससरह हुने डा. पौडेल बताउनुहुन्छ।
देशको अग्रणी मुटु अस्पताल गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार ६६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११.८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको देखाएको थियो।
यस्तै उच्च रक्तचाप ३६.६ प्रतिशत, मधुमेह २५.३ प्रतिशत र कोलस्टोरोल ७.८ प्रतिशतलाई हुने गरेको छ । विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ बर्ष मुनिका चुरोट खानेमा हृदयाघातको समस्या बढ्दो रहेको पाइएको छ।
चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पौडेलका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढेको छ।
सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको भएको थियो भने सन् २०२० यता एक सय पचास जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पौडेल सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताउनुभयो। ‘चुरोट, हुक्का र भेप जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन्। उहाँले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउनुभयो। हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्छन्,’ उहाँले भन्नुभयो, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्याउँछ। अनि हृदयाघात सम्भावना हुन्छ।’
नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।
मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा. भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन् । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको उहाँको जिकीर छ।
मनमोहन सेन्टरमा दैनिक चार देखी १० जनासम्म हृदयाघातका बिरामी आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ।
‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ,’ डा. पौडेलले भन्नुभयो, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने र नियमित व्यायाम गरेर हृदयाघातबाट बच्न सकिन्छ ।’
मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पौडेल हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँनुहुन्छ।
सेन्लेटरले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ। हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने गरेको उहाँ बताउनुहुन्छ।
एउटा एन्जिओप्लास्टी गर्नका लागि एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि सेन्लेटरमा निःशुल्क एन्जिओप्लास्टी समेत उपलब्ध गरेको छ ।
विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात)।
ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्याउन सके बचाउन सकिन्छ।
यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ।
‘हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्याउन सके बचाउन सकिन्छ,’ उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’
एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । सेन्टरले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ।
मनमोहन सेन्माटरमा प्रत्येक महिना ३० देखी ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उहाँ बताउनुहुन्छ ।
जाडोमा हृदयाघात बढी हुने गरेको र खासगरी मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ । यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । डा. पौडेलले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताउनुहुन्छ ।
मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।
रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ।