आज १८औं गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह

१८औं गणतन्त्र दिवस आज मनाइएको छ । बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाइएको हो ।

सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको छ ।

कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रश्तुत गरिएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

उहाँले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चताको सबैभन्दा ठूलो भएको बताउनु भयो । उहाँले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गर्नुभयो ।

उहाँले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक-पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने उहाँको भनाइ छ ।

निरंकुशतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने समाजको बहसको विषय नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ । रासस


ताजा खबर