मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’लाई सुपरहिट फिल्मको मान्यता दिएको छ। सोमबार बेलुका आफ्नो वेबसाइटमार्फत यो चेनले फिल्मलाई सुपरहिटको ट्याग दिएको हो।
देशभरका क्युएफएक्स हलमा पहिलो साता १ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेपछि उसले सुपरहिटको मान्यता दिन्छ। त्यसैगरी कुनै पनि फिल्मले पहिलो सप्ताहन्तमा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ब्लकबस्टर घोषणा गरिन्छ ।
सरकारको आधिकारिक बक्स अफिस अनुसार ऊनको स्वीटरले १५ दिनसम्म देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ।
यसअघि क्यूएफएक्सको यस्तो थ्रेसहोल्ड पूर्णबहादुरको सारंगी, छक्कापञ्जा ५, १२ गाउँ, बोक्सीको घर, महाजात्रा, कल्की लगायतका फिल्मले प्राप्त गरेका थिए ।
‘ऊनको स्वीटर’ ले दुई सातामा अर्थात गत बिहीबारसम्म घरेलु बजारमा ८ करोड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता कम्पनी आर्टमाण्डु नेपालले जनाएको थियो।
म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो फिल्म हो। फिल्ममा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु,विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय छ। रासस