भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो अर्का एउटै व्यक्तिमा प्रत्यारोपण गरिएको छ ।
आज केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षीय पुरुषमा एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एकै व्यक्तिको अङ्गबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण हुनु नेपालको लागि ठूलो सफलता भएको बताउनुभयो । उहाँले यसअघि कलेजो प्रत्यारोपण गर्नका लागि भारतबाट विज्ञको सहयोग लिने गरेको भएपनि यो पटक नेपालीको टोलीले मात्रै कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरिएको जानकारी गराउनुभयो ।
दुवै अङ्ग एकै पटक, एउटै व्यक्तिमा प्रत्यारोपण गरेको पहिलो पटक हो भन्दै डा. श्रेष्ठले यो सफलताले मानिसमा अंगदानप्रति सचेतना बढाएको देखिएको उल्लेख गर्नुभयो ।
यस्तै अर्की ४४ बर्षिया महिलामा पनि मिर्गौला प्रत्यारोपण भएको छ ।
अङ्ग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहनुभएको र केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको डा.श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति १२ जना पुगेको छ ।
सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा धादिङ जिल्ला निवासी १८ वर्षीय युवकको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो ।
काठमाडौँको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका युवालाई उपचारका क्रममा केएमसी ल्याइएको थियो । केएमसीमा परीक्षणपछि मस्तिष्क मृत्यु भएको पुष्टि भएको थियो । उहाँका बुबा र दाजुको सहमतिमा अङ्गदान प्रक्रिया गरिएको हो ।
केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अङ्गहरू केन्द्रलाई हस्तान्तरण गरेको थियो । १८ वर्षीय युवाका अङ्गहरू ५४ वर्षीय व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो । प्रत्यारोपण टिममा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाउनुभएको थियो भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का हुनुहुन्थ्यो ।
उक्त अंगदान कार्य सफल गर्नका लागि सोही केएमसी अस्पतालका सञ्चालक सुनिल शर्मा, सर्जन डा. रोशन घिमिरे, नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिस्ट डा. विजय केसी, पोस्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ लगायतबाट सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ । रासस