~ सूर्य चेम्जोङ
वेसिक सेलरी पन्ध्र सय रियाल ओटी गरेर २६०० रियाल हुन्छ ल आऊ आऊ के दुःख गर्छौ यार वरु कहिले दमाम आउँछौ भन म यहाँ काम मिलाउँछु…….ल भोली विहानै हिँड न सुटुक्क मत्तामबाट…….दमाम बाट साथीको फोन आएको थियो ” निदाउनै सकिन रातभर खेलिरहे मनमा कुराहरु…हत्तेरीका यहाँ दिनमा १७ घण्टा काम गरेर नि कति न सेलरी थापिएको छ र ?कमसेकम गधा झै यतिका जोतिइदा त पैतिँस सय रियाल तलब नि कम हुन्छ अघि भर्खर बलाद जाँदा एकजना पाकिस्तानी ट्याक्सी चालक मेरो काम र कम्पनीको नाम सुनेर चुक्चुकाएको सम्झिएँ यहाँ सम्म भन्न भ्याए “विचरा” । कोल्टे फर्किएँ एक हप्ता अगाडी सँगै काम गर्ने साथीको भाई जिजानमा काम गर्दा गर्दै कम्मर र ढाँडको रोगले ग्रसित भएर थलै परेको छ रे…न कम्पनीले उपचार गरेको छ न तलब नै दिएको छ आज डेढ महिना भो..न घर पठाउँछ बिचरा….साला मानवता हराएको मान्छेहरुको भिडमा उभिनुको नमज्जा यहाँ आएर महसुश गरिरहेको छु….आँखा बन्द गरेँ निदाउनलाई कोशिश गरेँ छोडेन कुरा खेल्न मनमा दश दिन अघिको घटना सम्झिएँ साला आफुले आफैलाई के सम्झन्छन यिनीहरु स्वयम जंगिएको थिएँ म्यानेजरसँग…दिनभरी काउन्टरमा क्यासियरको काम गर्दा गर्दै पनि साउदी अरेबियनहरुसँग लफडा परेर हैरान त्यहि माथी किचकिच..अझ परिकार बढि भएर नबिकेकोले मकिनावाला र क्यासियरको तलबबाट १५० रियाल कटाउँछु…भन्दै उफ्रिए पछि के कम म पनि जंगिए तिम्रो सामान ग्राहक नआएर बिक्दैन त मैले किन तिर्न पर्ने….कुरै कुरामा धेरै कुराहरु भए ब्रेक देखी सल्ला टाइम सम्मका हरेक आधा आधा घण्टा सल्ला र ब्रेक टाइमलाई न उपयोग नै गर्न पाएका थिए कसै कामदारले..झण्डै हात हालाहालको स्थीति आयो हामीमा…पहिल्यै बाट हठ स्वभावको भएकोले मलाई जेदहाबाट ताबुक पठाउने प्रक्रिया थालियो । मलाई पनि कुनै इच्छा थिएन त्यहाँ रहन स्वीकृति दिएको थिएँ । मसँग अरु ४ जना पनि थिए जो म जस्तै सोँच्थे ।…हैट विहानको ५ बजेछ भरे १० बजे विहानको ड्युटि हो। सिरकले अनुहार छोपेर ढल्किएँ ..एक महिना अघि कान्छा भाईलाई कुटुलाँ झै गरि झम्टिदाँ कोही बोलेनन् मै अघि सरेको थिएँ सुपरभाइजर सँग तर्क विर्तक गर्न…सालाहरु के सम्झन्छन नेपालीहरुलाई…खान नपाएर त आएका होइनौ नि हामी पनि..यहि दम्भ देखाएँ । पछि म्यानेजर ल्याएर कुरो सम्याईयो दोष जति ममा थोपरियो साथमा एउटा वार्निङ लेटरको पुरस्कार पाएँ तर पनि दुख थिएन आत्मसन्तुष्टी थियो कमसेकम एउटा नेपालीलाई हेप्न खोज्दा अर्काे नेपालीको सामना गर्न पर्छ भन्ने सन्देश त पाए यिनीहरुले । म्यानेजमेन्टमा उम्रिए देखी खुम्रिएसम्म भारतिय केरलाहरुको राज थियो । नाताबाद र कृपावाद त मैले असली रुपमा यहिँ देखेँ भलै केही नजानोस यदि केरला परिवारको भए उस्ले अवसर पायो…नेपालको ब्रामहणबाद र यहाँको केरलाबादमा फरक देखिएन । जसको जाँतोमा नेपाली,बंगाली,श्रीलंकन तथा अन्य भारतियहरु पिसिँदै आएका छन । ओहो…विहानको ७ बजेछ यसो भित्तोमा झुण्ड्याइएको घडिमा आँखा पुग्यो अब त निदाउन कोशिश गर्न पर्याे…यतिकैमा झापाली वि.क. सोल्टा आएर अहिल्यै निस्कने तर्क गर्न थाले । हुन त कम्पनी छोडेर जाने योजना हामी सबैको हो तर मिति तोकेका थिएनौ अकस्मात ५ जना हामी अहिले नै भागेर जाने सहमतीमा पुग्यौँ ।बेली विस्तर पहिले नै बाँधिएको हुनाले “कि जंगे रेलमा कि जंगे जेलमा” यहि भावका साथ निस्कियौँ सुटुक्क विहान ७ : ३५ बजे बलादको लागि…मध्यान्ह १२ बजेको साप्को बसमा चढेर लाग्यौँ दमामको यात्रामा…एउटा नयाँ वर्षको साथ नयाँ यात्राको थालनी गरियो जनवरी १ तारिखको दिन ।कम्पनी छोडेर इलिगल हुनुमा कुरै डर थिएन किनकी एउटा सिँगो देशको समुदायको प्रतिनिधित्व थियो हामीमा चौधरी,वि.क.,लिम्बू,छेत्री र तामाङ ।
१८ घण्टाको वस यात्रा साउदीका अनगिन्ती पहाडहरु चिर्दै विहान ८ : १० बजे दमाम साप्को वस स्टेण्डमा आएर टुंगियो ।नौलो ठाउँ नौलो अनुभव साँच्चै जेहदा भन्दा दमाममा निक्कै जाडोको अनुभव भो । योजना मुताविक नै लागियो २ जना कतिक र ३ जना सफुवा । पेन्टरको कामको लागि आए पनि ३ जनालाई मात्र हाललाई काम मिलेकोले बाँकी २ जना बलदियामा गर्न पर्ने अवस्था आयो । आतिने कुरो थिएन किनकी मुटु नभएकाहरु साउदीमा गैरकानुनी रुपमा बस्न आँटै गर्न सक्तैनन् । जुलाई २ तारिखमा घर जाने योजना बनाएर अझ मोबाईलमा मिति सेभ गरेरै तामाङ, क्षत्री र वि.क. सोल्टाहरुलाई सफुवा पठाएर चौधरी मित्र सँग लम्किएँ म कतिक तिर ।कतिक शिया मुस्लिम बाहुल्य क्षेत्र त्यसै पनि साम्प्रदायिक दँगा सुन्नि र शिया बिच विश्वमा भइरहको छ । भर्खर १ महिना अगाडी मात्र ४७ जना शिया मुश्लिमहरुलाई साउदी सरकारले मृत्युदण्ड दिएको रहेछ ।प्रत्येक रात जनयुद्धको झझल्को दिन्थ्यो ।बन्दुक र बम विष्पोटको आवाज नआएको रात हुन्न थियो ।पुलिस र ट्याक्सी चालक जान डराउने ठाउँमा धन्न नेपालीहरु काम गरिरहेका छन् । हुन त आयुको छोरालाई वायुले लाँदैन । भोली विहानबाट कामको सुरुवात भो हमामियाँबाट काम गर्न आरामको सम्म पुग्नु पथ्र्यो कहाँको क्यासियर काम कहाँको बाटोमा झाडु लगाउने काम ।मन र मष्तिस्क वेचैन भयो केहि सोँच्न सकिन । कम्पनीबाट फोन आउने क्रम र आश्वासन देखाउने क्रम चलिरहयो मनले मनलाई भन्यो “धत् तँ मुला कातँर न हुँ मर्दको छोरो होस , थुकेको थुक चाट्नु तेरो गद्दारीपन हो” भाग्य भन्दा काममा विश्वास गर्ने म ।लाजलाई पन्छाएर तल्लिन भईरहेँ काममा । पाँचै जनामा सम्पर्कमा थियौँ स्वदेश सँगै फर्कने योजना पनि ।एकातिर साथीभाईबाट अबैधानिक बाटो रोजेकोमा रोष प्रकट हुन्थ्यो तर कसैले पनि सोधेनन् अबैधानिक हुनुको कारण ।यहाँ म जस्ता अबैधानिकहरु लाखौँको संख्यामा छन् रे भन्ने कुराको प्रमाण १७०० जना नेपाली अबैधानिक एकसाथ काम गरिरहेकोले पाएँ । सबैको आ–आफ्नै कथा व्यथा सुनेर ल्याउँदा नेपाली हुनुमा हिनता बोध हुने रहेछ । मोरङको सरदार भाई अत्यन्तै मिलनसार सँगै काम गर्दा गर्दै उनको मुहारमा एककिसिमको पिडा छचल्किएको देखेँ ।उसको बेचैनीपनको कारण बल्ल तल्ल खोलिए । १० महिना भएछ साउदीको यात्रा सम्झौता मुताविक तलब नपाएपछि अवैधानिक बाटो अँगालेको ६ महिना भयो रे लाख भन्दा माथी लगानी गरेर पनि ऋण सम्म तिर्न नसकेको…..भागिसके पछि कामको खोजिमा भौतारिदा बल्ल तल्ल यहाँ आईपुगेछन् । २ महिनामा पनि एक सेलरी नथापिएकोमा भने अझ उनका डर रहेछ ।अगुल्ठोले हानेको कुकुर बिजुली च्रम्कदा तर्सन्छन भन्ने उक्ति उसमा लागु हुने रहेछ । साझँको समयमा आफ्ना सम्पुर्ण विगतका भोगाईहरु शेयर गर्दै गयो ऊ । भागेको २५ दिनसम्म काम नपाएर सिको गार्डेनमा रात कटाएको व्यथा अनि एक नेपाली दलाल मार्फत् बंगाली दलाल संग बेचिएर २ महिना सम्म होटलमा आफुभन्दा ठुला ठुला भाँडा माभ्mन परेको अनि तलबै नदिई लखेटिनु परेको यति मात्र होईन ट्याक्सीमा काले सुडानी ड्राइभरहरुबाट समेत लुटिएको ।उस्को भोगाइको कथा सुनेर अवाक भएँ एकछिन् । अझ थप्दै गयो आफ्नो पिडा..२ महिना भो श्रीमति पनि अर्कैसँग पोइल गईन् अब त घर जान कस्को लागि दाई । विस्तारै मैले सम्झाएँ उस्लाई आमा–बा भन्दा ठुलो स्वास्नी होइन नि । मैले नि भन्दिएँ खुटा भए जुत्ता कति हो कति….भाइलाई नि सन्तोष भएछ मनमा खुशीसाथ भन्न थाल्यो जाउँ दाई दारु खान….श्रीलंके दारु एक प्याक स्वाट्ट लाएर गह्रौ मन लिएर ढल्किएँ म नि । रातभर मनमा कुराहरु खेलिरह्यो साच्चैँ नेपालमा मात्र होइन परदेशमा पनि नेपाली दलालहरु नेपाली ठग्दारछन् । जय नेपाली…उफ्…हुन त केहि समय अगाडी आफ्नै अगाडी सिको गार्डेनमा ४ जना नेपालीलाई नेपाली दलालहरुले बंगाली दलाल सँग ५–५ सय रियालमा बेचेको आफ्नै आँखा अगाडी देख्दा कुनै चलचित्र हेरिरहेको छु भान भएको थियो तर वास्तविकता त्यहि हो । सरदार भाई त एउटा पात्र मात्र हो ऊ जस्ता हज्जारौँ नेपाली पात्रहरु मौन अभिनय गरिरहेका छन यहाँ ।मनमा कुरा खेलाउँदै कतिबेला निदाएछु पत्तै भएन ।
सबेरै बिहान उठेर ड्युटि पुगियो भोलिपल्ट । सरदार भाईको फोन आयो उठाएँ कम्पनीले हुप हानेकोले आजै सेटिङमा मामाघर गएर हप्ता दिनमा नेपाल पुग्ने कुरा गर्याे । मैले नि ठिकै छ सम्पुर्ण हिसाब किताब मिलाएर घर जान सल्लाह दिएँ । १८०० रियाल तिरेर मामाघर एकहप्ता बसि नेपाल फर्किएको कुरा पछि एकजना आचार्य भाई मार्फत जानकारी पाएँ । अनि मन मनै भने “कस्तो रछ जाने बेलामा सुटुक्क केहि नभनी गएछ मुला”
मैले बस्ने क्याम्पमा म जस्ता अबैधानिक ३०० भन्दा ज्यादा हुन नेपाली मात्र ।तर पनि कस्तरी मिलेर सुख दुःख साटेर बसेका छन् एकार्काको मर्म बुझेका छन् ।पुर्व मेची देखी पश्चिम महाकालीसम्मका,हिमाल देखी तराई सम्मका कस्तरी मिलेर बसेका छन् । भारततिरका नेपालभाषीहरु नेपालीसँगै रहन रुचाउँछन तर तराईका भारतिय बर्णका नेपालीहरु भारतियहरु सँग बस्न रुचाउँदैनन् नेपालीसँगै रहन मनपराउँछन् र पनि भारतका नेपालभाषीलाई आफ्ना ठानेर आपm्नै देशका मधेसीहरुलाई हामी घृणा गर्छाै पराई ठान्छौ यो भन्दा ठुलो मुर्खता के होला सँसारमा? तिन दिन अघि मात्र इण्डियन सुपरभाइजरसँग सानो लफडामा मेरो पक्ष लिई सुपरभाईजरसँग जाई लाग्दै कार्की दाजु, चौधरी भाई, ओली सोल्टा, ठाकुर भैया,हरी ङोलोहरु कस्तरी प्रस्तुत भएका । नेपाली मनहरुको एकता यहिँ बिदेश आएर मात्र देखिदो रहेछ । एउटा नेपालीलाई केहि पर्दा अर्काे नेपालीले सहयोग गर्ने शायद आजभोली बिदेशमा मात्रै होला । नेपालमा भए लिम्बुवान,खम्बुवान,थारुवान,मधेश……एमाले,काँग्रेश,माओवादी……राजाबादी,गणतन्त्रबादी……हिन्दुराज्य,धर्मनिरपेक्ष राज्य आदी भन्दै एकार्कामा कडारुपमा प्रस्तुत हुन्थ्यौँ होला । न त यहाँ कुनै धर्म,न त राज्य न त कुनै जात या समुदायको कुरो हुन्छ यहाँ त बस सबमा नेपाली हुँ भन्ने भावना मात्र छ ।यहाँको नेपालीहरुको एकता देखेर नेपाल तिर राजनीति गर्ने नेताहरु प्रति घृणा जागेर आउनु स्वभाविक हो किनकी धार्मिक,जातिय,सम्प्रदायिक सम्बन्ध खल्बलाउने श्रेय यिनीहरुमा जान्छ ।
दिनहरु क्रमश वित्तै गए । एकदिन दुई जना रोल्पाली भाईहरु जुबेल आई पुगे त्यसबेला कतिकबाट जुबेल आएको मेरो पनि एक हप्ता मात्र भएको थियो ।भाईहरु निक्कै राम्रो दोहोरी गीत गाउथँे अवसर र पैसाको अभावले विचराहरु परदेशिएर पनि अबैधानिकताको बाटो रोजेर यहाँ आई पुगे ।काम गर्ने स्थान एकैठाउँ भएकोले पनि निक्कै नजिक भयौँ । यसैपनि उनिहरुको यहाँ आउनुको कारणबारे जान्न उत्सुक थिएँ ।शुक्रबार छुट्टीको दिन कोठा पनि सँगै भएकोले मेरो उत्सुकता मेटाउँदै भाईहरुले आफु आउनुको कारण कम्पनीले ८०० प्लस ३०० मा सम्झौता भए पनि जम्मा ६०० रियालमात्र तलब पाउने गरेको अनि एजेण्टसँग सम्पर्क गर्न खोज्दा फोन नै नउठाएको अनि घर जान्छु भन्दा उल्टै ८००० रियाल मागे पछि मिठो सपना पुरा गर्न भाग्न बाध्य भएको बताए । एकलाख पच्चिस हजार तिरेर साउदी आएका उनिहरु एक बर्षमा पनि ऋण तिरी नसकेको बताउँदै अब राम्ररी कमाई गरेर नेपाल फर्किई लोक दोहोरी एल्बम निकाल्ने सोच भएको बताउँदै गुन्गुनाउन थालिहाले । साँच्चै निकै राम्रा गाउथेँ…म मोहित भएर हराईरहेँ उनिहरुको आवाजमा…
चम्चागीरी गर्नमा बंगालीहरु एक नम्बरमा हुन्छन् रे , सुनेको मैले तर नेपालीहरु पनि चम्चागीरी गर्नमा कम छैनन् । राम्ररी काम गर्दै गरेका १५ जना नेपालीहरु एक्कासी टर्मिनेट भएर जागिरबाट निकालिए कारण केहि थियो जस्तो लागेन तर दुई जना नेपाली मिश्री मुदिरसँग चम्चागीरी गर्नमा पोख्त छन भन्ने सुनेको थिए । भोली पल्ट सुनियो ति पन्ध्र जना नेपालीको ठाउँमा १५ जना बंगालीहरुले जागिर पाए रे । साथमा ति दुई नेपालीलाई ग्रुप लिडरको तक्मा मिल्यो रे । मलाई ति दुई नेपालीको प्रमोशन भएकोमा कुनै खुशी थिएन बरु ति १५ जना नेपाली बेरोजगार हुनुको दुःख थियो ।
ओहो आज त सेलरी आउने दिन महिनाको १ तारिख तर आएन १० तारिख सम्म कुरियो आएन । अफिसमा फोन गरेर सेलरीको बारेमा बुझ्न खोज्दा उल्टै काम गर्ने मन भए गर्नु नत्र झोली झाम्टा बोकेर लाग्दा हुन्छ भन्ने उतर आउँथे के पो गर्न सकिन्थ्यो र? कस्लाई उजुर गर्ने यसै पनि जाने ठाउँ थिएन पुरानो कम्पनीमा जाने बाटो पनि बन्द भई सक्यो ।चुपचाप आफुलाई तल्लो स्तरमा राखेर मौन बस्नुको विकल्पै थिएन । जिवनमा पहिलोपल्ट यति नमज्जा महसुस भएको थियो मलाई र कम्पनी छोडेर भाग्नुमा पछुतो पनि । आखिर २२ तारिख मात्र सेलरी आयो ।सबैले सेलरी थापे कसैले घर पठाए कसैले रक्सीवालालाई तिरेर सके कसैले तासमा हाने त्यो सेलरी आको रात निदाएन हाम्रो क्याम्प, जागा रहे रातभर…मनमा चिसो पस्यो कस्तो कस्तो नमाज्जा लाग्यो । पैसा नहुँदा आदर्शका कुरा छाट्ने हामीहरु पैसा पाउने बितिकै भुलिहाल्छौँ है, हिजो सम्म घर परिवार भोकै छन भन्नेहरु स्वास्नी छोरा छोरी आमा बा विमारी छन भन्नेहरु आएको सेलरी एकै पटक तास र रक्सीमा सकेर नाँगै बसेको पनि देखियो ।कस्तो बिचित्र छौँ है हामी नेपाली हुन त एकमानाकी छोरी खै के मा परी रे भन्छन नि हुन त बुढापाकाहरुले त्यसै त उखान बना हैनन् रछ नि । कम्पनीमा काम गर्दा भन्दा बाहिर भागेर गर्ने कामको मुल्य बढि छ एउटा लक्ष लिएरै भागेका हुन्छन मान्छेहरु कति चाँडै बिर्सदा पनि रैछन मान्छेहरु…..भोली पल्ट पनि तास र रक्सीको मौसम उतिकै थियो । दिनभरीको कामको थकाईले भुसुक्क निदाएछु पर्सिपल्ट विहानै सुनियो रातभर सँगै तास खेल्दै रक्सी खाने ८ जना नेपालीहरुले आपसमा मारामार गरेछन त्यहिबेला मामाहरु आएर खोरमा लगेका छन् रे शायद केहि महिना मामाघरमा राखेर घर पठाउँछन होला यिनीहरुलाई…
जुलाई महिनाको सुरुवात भो हपहपी गर्मि बढेर ५१ डिग्री सेल्सीयस सम्म पुग्थ्यो । सँसारकै गर्मि देश साउदीमा बाहिरी घाममा काम गर्न नसकिएला झै भान हुन थाल्यो । एक बर्ष अघिको सूर्य र अहिलेको सूर्यमा आकाश जमिनको फरक थियो । पहिलेको गहुँगोरो सूर्य अहिले हाँडी जस्तो कालो रंगमा परिवर्तन भएको थियो । जेदहाबाट सुरुवात भएको मेरो साउदी यात्रा दमाम,कतिक,जुबेल,ताबुक हुदै हाब्रबादेनमा आएर टुंगियो यो एक बर्षमा धेरै थोकको अनुभव गर्ने अवसर मिल्यो । पैसा नकमाए पनि जिवनमा प्रशस्त अनुभव र अनुभुतिहरु कमाएँ । नेपालीहरुको परदेशको समस्या र भोगाईहरु सँग नजिकै साक्षात्कार गर्ने मौका मिल्यो । कुनै गुनासो छैन ममा अबैधानिक हुनुमा…मानिस रहरले अबैधानिक हुने होईन उस्को पिडाको सुनुवाई नभए पछि अबैधानिक बाटो अपनाउने हो । शायद नेपाल सरकारले अबैधानिक बाटो समाउनेहरु्रलाई खराब देख्लान गलत देख्लान । हो गलत हो तर किन गलतबाटो अपनाए जान्नु जरुरी छ, समस्या समाधान तिर लाग्न जरुरी छ । यहि कुराहरु मनमा खेलिरहयो रातभर जागै रहिरहँे ।एसो भित्ता तिर घडीलाई हेरेँ ४ बजेछ विहानको । बल्लतल्ल निदाउन लागिराथेँ कसोकसो चौधरी, वि.क.,छेत्री र तामाङ साथीहरु कतिक,जुबेल र सफुवाबाट कस्तो जानकारी नै नदिई सुटुक्क आएर उठाउँदा पो झसंग भएँ । “ओई आज जुलाई २ तारिख हो हेर त ”हतार हतार मोबाईलको क्यालेण्डरमा गएर आज मितिको नोटमा गएँर हेरेँ । झसँग भएँ ओहो आज त हाम्रो नेपाल प्रस्थानको लागि दमाम फर्किने दिन । साथीहरुलाई कस्तो याद रहेछ लगतै दमाम अफिसमा फोन गरेँ हिसाब किताब मिलाएर राखिदिन भनेँ आजै साँझ मामाघर पठाईदिने सम्झौता पनि ।हतार हतार पोको पन्तेरो कसेर ५ बजे विहान हामी निस्कीयौँ दमामको लागि…..साँच्चै अबको एकहप्तामा त नेपाल पुगिन्छ हगि सोल्टा हो ? साप्ट्को बस हाब्रबादेन छोडेर दमामको लागि बढिरह्यो एकसुरमा र्सररर…
.